उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी दुवै हात नभएकी पवित्रा बिकले एसईईमा ३.१२ जीपिए ल्याएर उत्तीर्ण भएकी छन । पोखराको रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी थिइन ।

पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगीको भरमा पवित्राले परीक्षा दिएकी थिइन । ९ कक्षामा पढ्ने सहयोगी बिभूती पाण्डेले उनलाई सहयोग गरेकी थिइन । पवित्राले अव अंग्रेजी विषय लिएर शिक्षा संकाय पढ्ने बताइन ।

तर परिवारको आर्थिक अवस्था नाजुक छ । उनी अहिले एक चर्चमा आवद्ध भएकी छन । उसले ११ र १२ कक्षा उत्तीर्णपछि कोरिया लैजाने भनेकाले शिक्षा विषय रोजेकी हुन । आमा कृष्णाका अनुसार पवित्रालाई कोरियन भाषा पनि पढाउने योजना छ । ‘अव कसरी पढाईलाई निरन्तरता दिने भन्ने विषयमा एस ओ एस स्कुलमै गएर सरहरुसंग छलफल गर्छु’ कृष्णाले भनिन्, ‘बाउले हेर्दैनन । मसंग छोरीलाई पढाउने उपाय केही छैन ।’

एस ओ एस हर्मन माइनर स्कुलका प्रधानाध्यापक चुडामणी सुवेदीले पवित्रको आगामी पढाईका विषयमा परिवारसंग बसेर छलफल गर्ने बताए । एस ओ एस बालग्रामको फ्याम्ली सपोर्ट कार्यक्रम मार्फत पवित्राको पढाईलाई सहयोग गर्ने योजना रहेको उनले सुनाए । हालसम्म पवित्राले उक्त स्कुलमा निशुल्क अध्ययन गर्दै आएकी थिइन ।

पवित्राको देब्रे हातै छैन । कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ दाहिने हात पनि। त्यसबाहेक अरु शारीरिकरुपमा उनि दुरुस्त छिन । हात नभए पनि उनले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेखेर अहिले एसईई उत्तीर्णसम्मको अवस्थामा आएकी हुन । खुट्टाले पेन्सिल तिखार्दै र कापी कितावका पानी फर्काउँदै उनले पढिन र लेखिन ।

स्कुलले बसेर खुट्टाले लेख्न मिल्ने गरी टेबुलको व्यवस्था मिलाएको थियो । बाबुआमाको बेमेलबीच पनि उनले हिम्मत हारिनन् । र अहिले यो अवस्थासम्म आइपुगिन । उनले एकाधबाहेक सबै काम खुट्टाले गर्छिन । उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन् । एसओएस बालग्राम गण्डकीले रोटरी क्लब अफ अन्नपूर्णसंगको सहकार्यमा उनलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाएको हो ।

रोटरीले आमा कृष्णालाई सिलाइकटाइको तालिमसंगै मेशिन पनि दिएको थियो । तर त्यसले धानिन गाह्रो भएपछि केहीसमय उनी विदेशिएकी थिइन । दुवै हात नभएपछि कृष्णा छोरीको भविष्यका लागि भन्दै पोखरा आएकी थिईन । गाउँमा स्कुल टाढा रहेको र खुट्टाले लेख्नुपर्ने भएपछि उनी पोखरा आएकी हुन ।

दिदीको घरमा बस्ने बेला हात नभएकी बालिका भनेर सार्वजनिक भएपछि रामबजारका निरज थापाले सुरुमा थाहा पाएपछि एसओएसमा पढाउन लगिएको हो । पोखराको हेरालो प्रतिष्ठानले पनि उनको पढाईमा सहयोग गर्दै आएको थियो । यो समाचार पोखराबाट प्रकाशित हुने ढोरपाटन दैनिकमा प्रकाशित छ ।

Leave a Reply