भनिन्छ,‘विपत्ति बाजा बजाएर आउँदैन। ’यो भनाईलाई पुष्टी गर्ने गरी विगत एकदशक यता म्याग्दीमा बाढीपहिरोले अपुरणीय जनधनको क्षति बनाएको थियो ।दैनिकजसो भइरहेको बर्षाले ग्रामिण क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तीको त्रासमा छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने संकेत गरिसकेको छ।
यसबर्ष मनसुन छिटो र बहिर्गमन असोज महिनामा हुने बताइरहँदा मनसुनको अवधिभर जनधनको क्षती न्यूनिकरणका लागि जिल्लाका स्थानीय सरकार, सरोरकारवालाले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिएको देखिदैन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाका बारेमा बोल्ने फुर्सद छैन् ।
स्थानीय तहले हरेक वर्ष मनसुनजन्य विपद् भइहाले राहत, उद्धारजस्ता प्रतिकार्यका लागि योजना बनाउने गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा सधैं प्रश्न उठ्दै आएको छ । कुनै क्षेत्रमा विपद् भइहाले सबैभन्दा पहिले सूचना पाउने, विपद्स्थल पुग्ने र राहत एवं पुनःस्थापनामा पनि प्रभावकारी भूमिका खेल्न सक्ने राज्यको निकाय स्थानीय तह भएपनि अन्तर स्थानीय तह बिचको समन्वयमा समस्या छ ।
जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण,जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण वा सचेतता, सहयोग, विपत्त वा भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदमका बारेमा असारको करिब दोस्रो सातासम्म सार्वजनिक भएको छैन ।
मनसुनजन्य विपद्बाट मानवीय क्षति हुन नदिन प्रभावकारी पूर्वसूचना प्रणाली म्याग्दीमा प्रभावकारी छैन ।जल तथा मौसम विज्ञान विभागले मनसुनमा बाढीको अनुमान गरेर सूचना सम्बन्धित क्षेत्रका बासिन्दाकहाँ पुग्न सक्ने संयन्त्र बस्तीसम्म हुनुपर्नेमा सरोकारवाला निकायको जोड छ।
जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको छलफल मनसुनजन्य विपद् बढी हुन नदिन जथाभाबी सडकजस्ता संरचना निर्माण, नदी–खोला दोहनजस्ता मानवीय क्रियाकलापको नियमनमा कडाई गर्न माग गरिएपनि कार्यान्वयन भने निकै फितलो छ ।
स्थानीय, प्रदेश र संघीय सरकार मातहतमा रहेका निकाय नै मनसुनजन्य विपद् प्रतिकार्य योजना सहित तयारी अवस्थामा बस्नुपर्नेमा समन्वयको अभाव तथा क्षतीपछि मात्रै सक्रिय हुने विगतको परम्परागत शैलीलाई नै निरन्तरता दिन खोजेजस्तो देखिन्छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपद् या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा निर्देशन समेत दिएको छ ।
‘विपद् व्यवस्थापनको तयारी जुनसुकै समयमा गरिन्छ तर बर्सातको समयमा अली बढी सचेत हुनै पर्छ’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ।
उनले विपद्का लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नै तयारी गरिरहेका छन् भने स्थानीय तहमा समेत स्थानीय तहमा भएका औजार, उपकरण, तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, पहिरो प्रभावित क्षेत्रमा गुचुमुच्च परेका वस्ती र अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले म्याग्दीका अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा छन।
बाढीपिहिरो कतिवेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान लगाउन सकिँदैन, त्यसैले घटेका घटनाकाबाट पाठ सिकेर थप योजना सहित अगाडी बढ्नुको विकल्प नभएको प्रजिअ ढकालको भनाई छ ।
यता मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले वडास्तरमा विपत्तजन्य तयारीमा जुट्न निर्देशन दिएको बताए । उनले विपत्तबाट जोगिन र क्षती भएमा तत्काल जुट्ने योजना बनाएपनि प्रयाप्त बजेटको अभावले भने समस्या भइरहेको बताए ।
File Photo/benionline