उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश मावि शैक्षिक भ्रमणको गन्तब्य बनेको छ । राष्ट्रिय सुचाङ्क प्रणालीको आधारमा सामुदायिक विद्यालयको नतिजा मुल्याङ्कनमा जिल्लामै उत्कृष्ट विद्यालयमा पर्ने ज्ञानप्रकाश माविमा बुधबार बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविबाट विब्यस, विद्यार्थी र शिक्षक सहितको टोलीले सिकाई आदान प्रदानका लागि अवलोकन भ्रमण गरेका हुन् ।

सरकारी निकाय बाहेक समुदायस्तरबाट समेत विभिन्न अक्षय कोष, भौतिक संरचना र शैक्षिक गतिविधिमा निरन्तर सहयोग भइरहेको विद्यालयमा पुगेको टोलीलाई कक्षा ब्यवस्थापन, शैक्षिक गतिविधिमा प्रयोग भएका नयाँ अभ्यास, संगीत कक्षा लगायत अतिरिक्त क्रियाकलाप र समुदायको सक्रियतामा भएका नमुना प्रयासका बारेमा जानकारी गराइएको प्रधानाध्यापक शान्त नेपालीले बताए ।

‘यो सिकाईका लागि निकै राम्रो अवसर हो, उहाँहरुबाट पनि हामीले सिक्ने अवसर पायौं’ प्रअ नेपालीले भने । उनका अनुसार भ्रमणको क्रममा विद्यार्थीको स्वागत सहित सम्रग विद्यालयका गतिविधि र आगामी पाँचबर्षसम्मको लक्ष्यका बारेमा समेत जानकारी गराइएको थियो ।

स्थलगत भ्रमण विद्यालयको पृष्ठभुमि, संक्षिप्त परिचय र शैक्षिक तथ्याङ्क, वित्तिय स्रोत, मानब स्रोत र अन्य स्रोतहरुको ब्यबस्थापन, नेतृत्व तथा जिम्मेबारी बाँडफाँड, बिद्यालय सुधार योजनामा आधारित प्रस्ताबना पेश गरी बहुस्रोतहरू लगाएतका सवालमा छलफल गरिएको थियो ।

अभिभावक संग सूचना आदानप्रदान तथा सम्पर्क, विदेशमा रहेका दानाबासीको सक्रियता विद्यालय नेतृत्व तथा व्यवस्थापन, शिक्षकको पेशागत विकास, सामुदायिक संलग्नता र स्रोत व्यवस्थापनको सवालमा ज्ञानप्रकाश मावि अब्बल छ । जामुनाखर्क माविबाट विब्यस अध्यक्ष यादब सुबेदीको नेतृत्वमा टोली विद्यालयको भ्रमणमा पुगेको थियो । ज्ञानप्रकाश माविमा यो ३७ औं भ्रमण टोली हो ।

Leave a Reply