म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ ।बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले ६ वटा सवारी साधन मर्मत र बिक्री गर्ने पसलमा बाढीले क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार रु. ३५ लाख मूल्य बराबरको सवारी साधनको पाटपुर्जा भएको शुभलक्ष्मी मोटरपार्टस् र रु. ३५ लाख मुल्य बराबरको सामान भएको चाँदनी अटो मोवाईल्सभित्र बाढी पसेको छ ।

यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । ४ वटा पसलमा ३० लाख मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ ।

शुभलक्ष्मी मोटरपार्ट्सका सञ्चालक देवेन्द्र पौडेलले भलबाढीले २ वटा कोठामा रहेको पसलका सामान बगाउने र पुरेर क्षति गरेको बताउनुभयो । बाढीका कारण म्याग्दी भित्र्ने र बाहिरिने प्रमुख कालिपुलको नाकामा मंगलबार दिनभर सवारी साधन आवत जावत गर्न समस्या भएको थियो ।

बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधी, स्थानीयबासीहरुले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन् । बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताउनुभयो ।

 

Leave a Reply