प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठनका लागि आयोजित अभिभावकहरुको भेलाबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो ।

अभिभावकहरुको भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सृजना श्रेष्ठ, भगवती शर्मा, शान्ति शर्मा पौडेल, श्रीप्रसाद आचार्य, भूपेन्द्र बुढाथोकी, पदेन सदस्यमा बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, शिक्षक प्रतिनिधिमा जयराम सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमाल चयन हुनुभएको विद्यालयले जनाएको छ ।

यसैगरी अभिभावकहरुको भेलाबाट लिलाराम गौतमको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन भएको छ । संघको सदस्यहरुमा गंगादेवी शर्मा, अंकित थापामगर, शान्त रानामगर पाईजा, टोपबहादुर कार्की, ईन्दिरा आचार्य, विष्णु सुवेदी आचार्य, लक्ष्मीकुमारी जोशी, पदेन सदस्यमा विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाल र सदस्य सचिव तथा शिक्षक प्रतिनिधिमा नारायणप्रसाद ढुङ्गाना चयन हुनुभएको विद्यालयका सहायक प्रअ विनय श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि अभिभावक भेलाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि जोड दिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाभित्र सञ्चालित कुल ५६ वटा विद्यालय र १६ वटा माविहरुमध्ये प्रकाश मावि एउटा प्रकाश भएको बताउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विद्यालयको समग्र विकासमा नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव हेमचन्द्र पौडेलले विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले विभिन्न नीति एवं कार्यक्रममार्फत आवश्यक पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष एवं बेनी नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ र विद्यालयका पूर्व प्रधानाध्यापक शिवप्रसाद केसीले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि तथा रचनात्मक क्रियाकलापहरु सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

अभिभावक भेलाको उद्घाटनसत्रमा विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले शैक्षिक प्रगतिसहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका निवर्तमान अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, सहायक प्रअद्वय टेकप्रसाद सुवेदीको स्वागत र विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply