म्याग्दीको बेनी नगरपालिका-३,भकिम्लीबाट एक समुहले उत्पादित आलु ’बेलढुंगा’ ब्रान्ड नाममा निर्यात हुने भएको छ । उन्नत जातको आलुको उत्पादनमा आत्मनिर्भर तथा स्वादिलो आलु उत्पादनले प्रख्यात भकिम्लीमा यसबर्षदेखि ब्यवसायिक कृषि क्षेत्रमा सक्रिय बेलदुङ्गा कृषि फर्मले आलुको ब्रान्ड स्थापित गर्न प्याकिङ र ट्यागिङ सहित बिक्री गर्ने समुहका सचिव भिम रोकाले बताए ।

‘भकिम्लीमा उत्पादन हुने आलुको ब्रान्ड बनाउन लागेका छौ, यहाँ उत्पादित आलुको बजार राम्रो छ’ सचिव रोकाले भने ।
निकै स्वादिलो मानिने भकिम्लीको आलुको माग उच्च छ। यसबर्ष बेलदुङ्गा कृषि फर्मले १ सय रोपनी क्षेत्रफलमा आलु खेती गरेको समुहका उपाध्यक्ष केरसिङ पुनले बताए ।

७५ रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातको आलु खेती गरिएकोमा जनकदेव र रोजिटाको उत्पादन राम्रो भएको पुनले बताए। स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको समुहले खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्रान्ड स्थापित गर्ने गरी संस्थाको नाम, ठेगाना र परिमाण पनि उल्लेख गरी बजारमा लैजाने बताए ।

‘उन्नत बीउ पाएपछि सोचेभन्दा धेरै उत्पादन हुन थालेको छ, यसबर्ष परीक्षण भएकाले आगामी दिनमा ग्राहकको चाहना अनुसारको उत्पादन गछौ’ उपाध्यक्ष पुनले भने ।

समुहले आफ्नो बाहेक स्थानीय किसानद्वारा उत्पादित आलुको बजारीकरणमा समेत सघाउने जनाएको छ। समुहले जनकदेव र रोजिटा जातको आलुको आकार अनुसार मुल्य तोकिएको छ । सानोलाई प्रतिकेजी ३५, मध्यम ४० र ठूलोमा ५० रुपैयाँमा खुद्रा बिक्री गर्ने जनाएको छ ।

भकिम्लीको हावापानीमा १६ सय देखि ३५ सय मिटर उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्र सिफारिस गरेको कृषि प्राविधिक सहायक श्याम शरण कर्मीले बताए ।

उन्नत जातको आलुमा रोग, किराको प्रकोप नहुने र उत्पादन पनि राम्रो हुने भएकाले कृषकको मोह बढ्दै गएको उनको भनाई छ। मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागी अनुकुल हावापानी भएको बताइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजना अन्तर्गत आलु उत्पादन प्रवर्द्धन कार्यक्रबाट आलु खेतीमा समुहलाई प्रोत्साहन गरेको छ ।

जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेती पनि पर्छ। गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो। म्याग्दीमा बार्षिक २५ हजार मेट्रिक टन उत्पादन हुन्छ ।

 

Leave a Reply