समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका–७ मा पर्ने प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्रका लागि गोलघर (घुमाउने घर) सहितका संरचना निर्माण भइरहेको छ ।

गण्डकी प्रदेश सरकारको रु ५० लाख र प्रवासमा रहेका विमका स्थानीयहरुको रु २५ लाख सहयोगमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो ।

शहर र वस्तीदेखि टाढा,जंगलको बिचभागमा अवस्थित अत्यन्त उपयुक्त प्रभुचेला धुरीमा परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका तथ्यहरु यहाँ अहिलेसम्म पनि देख्न सकिन्छ । यस्तो प्राचिन र रमणीय स्थानमा तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान केन्द्र निर्माण गर्न लागिएको प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत प्राप्त भएको रु ५० लाखको बजेटले ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । त्यसैगरी विमका वासिन्दाहरुले देश विदेशबाट पठाएको रु २५ लाख रकमबाट निर्माण गर्न लागिएको गोलघर (ध्यान केन्द्र)को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।“परापूर्वकालमा ऋषिमुनिहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेका विभिन्न अध्ययनबाट तथ्य पहिचान भएका छन् ।

यस क्षेत्रको संरक्षण, प्रवर्द्धनसँगै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ”, अध्यक्ष जुग्जालीले भन्नुभयो “यहाँ विसं १९७० देखि १९७५ सम्म स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले तपस्या गर्नुभएको थियो ।”

शान्त र एकान्त वातावरणमा रहेको यो स्थल प्राकृतिक दृश्यावलोकनका लागि समेत अत्यन्त उपयुक्त रहेको अवलोकनका लागि शनिवार यहाँ आउनुभएका दरबाङ बजारका भरत सुवेदीले बताउनुभयो । “शिरानमा मालिका भगवतीको निवासस्थल पवित्र मालिका धुरी, पुछारमा विम बराह ताल,विचमा रहेको प्रभुचेला धुरी आध्यात्मिक र प्राकृतिक दृष्टिकोणबाट मात्रै होइन पर्यटकीय महत्वले पनि युक्त छ” सुवेदीले भन्नुभयो ।

प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाका अनुसार प्रवासमा रहेका बिमवासीले जुटाएको रु २५ लाखबाट गोलो आकारको ध्यान गर्ने भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गोलघर भित्रै मञ्चको पनि व्यवस्था गरिएको छ । स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर निर्माण गरिएको गोलघरले नेपाली प्राचिन मौलिकतालाई पनि झल्काउने र पर्यटकहरुलाई पनि आकर्षित गर्ने किसिमले निर्माण गरिएको छ ।

पूर्वाधार निर्माण सुरु भएपछि यहाँ जिल्लाका विभिन्न सरोकारवाला व्यक्तिहरु पनि आउन थालेका उहाँले बताउनुभयो । केहीदिन अघि जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगाएतको टोलीले यहाँको अवलोकन निरिक्षण गरेको उहाँले जानकारी दिनुभयो ।

“केही वर्ष अघिसम्म यहाँ स्थानीयवासीहरुले गाई भैंसी र भेडाबाख्रा राख्ने र चरिचरन गर्ने गर्दथे । त्यतिबेला यहाँको महत्व स्थानीयले बुझेका थिएनन्” प्रभुचेला धुरीमा भेटिनुभएका विमका ६९ वर्षिय तिलबहादुर जुग्जालीले भन्नुभयो “हामीले खाइ खेलेको र बालापन बिताएको यो ठाउँ यतिधेरै महत्वको रहेछ ।”

गण्डकी प्रदेशअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्ष उपलव्ध गराएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको र यहाँ रहेका कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको सचिव गर्बुजाले बताउनुभयो ।
यहाँबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाइन्छ । बिमको सेराङबाट प्रभुचेला धुरीसम्म सडक जोडिएको छ। मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट उक्त सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत करिव चारघण्टामा प्रभुचेला धुरीमा पुग्न सकिन्छ ।

Leave a Reply