default

म्याग्दीको धवलागिरि गाउँपालिका ७ धारापानीका ७६ वर्षिय मेखबहादुर विक बादिकाको भिरमा मोटर गुडेको देखेर दङ्ग पर्नुहुन्छ । आफनो बालापन र युवाअवस्था त्यही भीरमा दाउरा घाँस गरेर विताउनु भएका विकले बाँदर समेत हिड्न डराउने भीरलाई काटेर बनाएको सडक अहिले स्तरोन्नति भएर चिटिक्क परेपछि पहिलाको भीर सम्झदा आंङ नै जिरिङ्ग हुने गरेको बताउनुभयो ।

“बाँदर हिड्न पनि डराउने भीरमा अहिले यति राम्रो सडक बनेको छ । पहिला हामी ज्यानको माया मारेर ओहोर दोहोर गर्ने ठाउँमा अहिले सररर मोटर गुड्छ,हेर्दै क्या आनन्द लाग्ने” विकले भन्नुभयो ।पहिला यस्तो थियो 

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङदेखि धारापानी हुँदै मुनासम्मको सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यताको अन्त्य भएको छ ।

मालिका गाउँपालिका केन्द्र दरबाङदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत ७ किलोमिटर सडक स्तरोन्नति गरिएपछि यस क्षेत्रका वासिन्दा र धौलागिरि आधारशिविर जाने पर्यटकहरुलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता हटेको हो ।

यसअघि भिरालो,साँघुरो र भीर पहराको जीर्ण सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनु पर्ने र यात्रा गर्नु पर्ने वाध्यता थियो । सडक स्तरोन्नति भएसँगै धवलागिरी गाउँपालिकावासीले साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्कामार्फत योजना कार्यान्वयन थालिएको थियो ।

दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्काको अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रुपियाँमा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो ।

योजना अन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली निर्माण, ग्यावियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी ७ मिटर चौडाइमा सडक ग्राभेल गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो ।

बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ ।

कोरोनाका कारण समयमा काम सम्पन्न नगरे पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेको निर्माण व्यवसायी प्रतिनिधि प्रधुम्न कुँवरले बताउनुभयो ।यसैगरी धारापानीदेखि सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ ।

योजना अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको धारापानी देखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न ठेक्का लगाइ योजना कार्यान्वयन सुरु गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

“सडक खण्ड अन्तर्गतको धवलागिरि गाउँपालिका– ७ बादिकाको भीरमा अत्यन्तै जोखिम थियो” धवलागिरि गाउँपालिका ७ धारापानीका टेकबहादुर थापाले भन्नुभयो “१३ वर्ष अघि बढो मुस्किलले अक्करे भीर फोरेर ट्र्याक खोलिएको हो । तर त्यस ठाउँमा यात्रा गर्दा अव यत्तिकै हो जस्तो लाग्थ्यो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भीरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।”

दरबाङ–धारापानी सडकखण्डको बादिकाको भीरमा सडक ढलान र नाली निर्माणसहित स्तरोन्नति भएपछि धारापानीवासीले नाचगान गरेर खुसियाली मनाए । “करिब सात किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नति गरिएपछि स्थानीयले गाउँमा नाचगान गरेर खुसियाली मनायौँ” स्थानीय राधिका थापाले भन्नुभयो “बाँदर दगुर्ने भीरमा अहिले मोटर गुड्ने सडक बनेको छ, एक दशक बढी समयदेखि जीर्ण र जोखिमपूर्ण तवरले सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता अहिले हटेको छ” ।

विसं २०६७ मा जिल्ला विकास समितिको रु. २० लाख र सांसद विकास कोषबाट रु. आठ लाख ५० हजारसहित स्थानीयवासीको चन्दा संकलनबाट रु. एक करोड ९२ लाख रकम जुटाएर दरबाङबाट सिवाङसम्मको सडकको ट्र्याक निर्माण भएको थियो । समुदायको चन्दा र सहयोगबाट निर्माण भएको सडक सरकारी तवरबाट ढलान र ग्राभेलसहित स्तरोन्नति भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

Leave a Reply