ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठान स्थित पर्यटकीय र पुरातात्विक महत्वको संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ ।

ढोलठान दरबार क्षेत्रको संरक्षण र पूर्वाधार निर्माणलागि चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत ढोलठान संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १० लाख गरेर २० लाख रुपैयाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएपछि दरबार आसपास क्षेत्रमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

‘ पुरानो दरबार रहेको ठाउँमाढुङ्गाको प्रयोग गरेर प्रवेशद्धार बनाइएको छ, नयाँ पुस्तालाई सताब्दीऔ पूरानो इतिहासको जानकारी लिन समेत सहज हुनेछ’ वडा अध्यक्ष केसीले भन्नुभयो ।

प्रवेशद्धार जिल्लामा नयाँ मोडेलको भएकाले पर्यटकहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ । ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको उपभोक्ता समितिका सचिव याम विश्वकर्माले बताउनुभयो । प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण गरिएको छ ।

ढोलठानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य अनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको छ तत्कालीन राजा डिम्ब बमको समयमा वि.सं.१६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानमा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

ढोलठानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पछिल्ला केही वर्षयता ५० लाख बढीको पूर्वाधार निर्माण गरिएका छन् । नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठान जोड्ने पदमार्ग बनाउने योजना समेत बनाएको छ । ‘कहिले राजा ढोलठाना,कहिले राजा बेनी’म्याग्दीमा यो लोक कथन अझै पनि उत्तिकै प्रचलित छ ।

बाइसी,चौबीसी राज्यकालमा चौबीसी राज्य अन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक,सामरिक र पर्यटकीय सम्भावनाले पनि उत्तिकै महत्वपूर्ण रहेको जनकल्याण मावि पुलाचौरका शिक्षक शिब बानियाँले बताउनुभयो ।

२०७७ सालको मदनपुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्धारा लिखित महारानी उपन्यास तत्कालिन पर्वत राज्यको राजधानी ढोलठान र बेनीलाई नै आधारभूमि बनाएर लेखिएको हो । महारानी उपन्यास प्रकाशन भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्नेहरु बढेका छन् ।

यहाँ तत्कालिन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारहरु समेत रहेका छन् । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरीसहितका दर्जनौ हिमालको दृष्य र म्याग्दीसंगै पर्वत र बागलुङ जिल्लाका दर्जनौ गाउँहरु अवलोकन गर्न सकिन्छ । समथर भूभाग, शिरशिर चल्ने चिसो हावा, तत्कालिन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने स्थान (थुम्को), एतिहासिक मन्दिरको भग्नावशेष समेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटकहरु रमाउने गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ ।

Leave a Reply