पश्चिम म्याग्दी जोड्ने जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएका छन् । सडकको बाँकी अन्य खण्डको कालोपत्रे भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन् । ठेकेदारले विभिन्न बाहना र शक्ती केन्द्रको पहुँच देखाउँदै आएका थिए ।

यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं.२०७६ साल जेठ ३१ लिएको थियो । ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु,यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाउने गरेका छन् ।

मङ्गला गाउँपालिका–२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार,आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत चैत–वैशाखदेखियता निर्माण व्यवसायी निर्माण आयोजना स्थलमा देखिएका छैनन ।

सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् । भने दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताए । ।सडक निर्माणको काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका–६,तोलाबाङकी पुर्णकली बिकले गुनासो पोखिन् । ‘‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ ।

बिस्कुन सुकाउन पनि पाइएको छैन । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ ,’’दुखेसो पोख्दै उनले भनिन् । पहिलो प्रभावित बाहेक रणबाङ देखि ढाँडखर्क सम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।

सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरेपनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताए । ‘‘ठेक्का लिएको लामो समय बितिसक्यो । पहुँचको आधारमा निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन ,’’ उनले भने । फोन नउठाउने विरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकेता गरेको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीले ४ किलोमिटरमा सब बेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरिको यो सडक वि.सं. २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्नेगर्दछन् । सो खण्डको कालोपत्र योजनाको लागि बजेट अभाव नभएको पुर्वाधार विकास कायालयले जनाएको छ ।

Leave a Reply