गण्डकी प्रदेश समन्वय परिषद् कतारले प्रदेश मातहतका जिल्लाहरूलाई अति आवश्यक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशभित्रबाट कतारमा स्थापना गरिएका ८ वटा जिल्लामा मानवीय कार्यमा सहयोगार्थ प्रत्येक जिल्लामा पचास हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ । परिषद्ले एक कार्यक्रमका बीच शुक्रबार बिहान उक्त सहयोग हस्तान्तरण गरेको छ ।

प्रदेश समितिले प्रत्येक जिल्लाका अध्यक्षहरुलाई आफ्नो जिल्लामा सहयोगका लागि अति आवश्यक क्षेत्रको पहिचान गराइ कार्यसमितिमा जानकारी गराउन आग्रह गरेको थियो । उक्त आग्रहबमोजिम आठ वटै जिल्ला संस्थाले आफ्ना जिल्लामा अति आवश्यक क्षेत्रको पहिचान गरी प्रस्ताव पठाएको थियो । प्रस्ताव उपर समितिले छलफल गरी सहयोग प्रदान गर्ने निर्णय गरेपश्चात उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

प्राप्त सहयोगलाई जिल्ला अध्यक्षहरूले तोकिएकै स्थान र शीर्षकमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले बेनी नगरपालिका वडा नं. ९ स्थित श्री गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा सहयोग गर्ने, कास्की आदर्श समाज कतारले श्रृजना बहिरा आवासीय माध्यमिक विद्यालय पोखरामा शैक्षिक अक्षयकोष वृद्धिका लागि सहयोग गर्ने भएको छ । गोरखा सेवा समाज कतारले मानव सेवा आश्रम गोरखा शाखाका बालगोपालहरुका लागि खाद्यान्न सामग्री खरिद गरी हस्तान्तरण गर्ने भएको छ ।

त्यस्तै लमजुङ सेवा समाज कतारले क्होलासोथार गाउँपालिका पसगाउँस्थित ठाँटी माध्यमिक विद्यालय र दोर्दी गाउँपालिका-६ ढोढेनीस्थि सिद्ध प्राथमिक विद्यालयलाई एक-एक थान कम्प्युटर सेट प्रदान गर्ने, पर्वत समाज कतारले जलजला गाउँपालिका-४ मा रहेका फट्केढुंगा आधारभूत विद्यालय र लुग्दी आधारभूत विद्यालयका ५/५ जना विपन्न विद्यार्थीलाई पोसाक तथा स्टेशनरी सामग्री वितरण गर्ने भएको छ ।

स्याङ्जा सहयोग समाज कतारले स्याङ्जा वालिङ स्वरेकमा रहेको नमुना स्वरेक एम्बुलेन्सलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने, तनहुँ सेवा समाज कतारले देवघाट १ पार्वती माध्यमिक विद्यालयमा आवश्यकबमोजिम परियोजना लैजाने भएको छ । बागलुङ सेवा समाज कतारले बागलुङ नगरपालिका बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ता कपडा खरिद गरी सहयोग गर्ने भएको छ ।

प्रदेश समितिमा २३ मार्च २०२४ सम्ममा १० हजार २० कतारी रियाल रहेको र आठ वटै जिल्लाका योजना तथा प्रस्तावमा रकम प्रदान गर्न अपुग भएपछि थप आर्थिक संकलन गरी सहयोग गरिएको समितिका कोषाध्यक्ष रोशन अर्यालले बैठकमा जानकारी दिए । उनले समितिभित्रका विभिन्न व्यक्तित्वहरूबाट ५ हजार ८ सय ५ रियाल सहयोग स्वरूप प्राप्त भएपछि उक्त रकमलाई मूल रकममा जोडेर प्रत्येक जिल्ला संस्थाहरूलाई १ हजार ३ सय ७० रियालका दरले सहयोग प्रदान गरिएको स्पष्ट पारे । कार्यक्रममा वक्ताहरूले गण्डकी प्रदेश कार्यसमितिले फरक किसिमको अवधारणा ल्याएर आर्थिक सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।

महासचिव कल्याण थापाले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता गरेका समितिका अध्यक्ष सागर पौडेलले जिल्लामा मानवीय कार्यका लागि प्रदान गरिएको रकम सोही शीर्षकमा यथाशक्य उपलब्ध गराइ परिषद् समितिमा जानकारी गराउन आग्रह गरे ।

Leave a Reply