म्याग्दीको बेनी नगरपालिका-५ र ६ चुत्रेनीमा द मुनसन युथ क्लवको सक्रियतामा निर्माण भएको मुनसन पिकनिक स्पट तथा पार्क पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ ।

बेनी बजारदेखि नजिकै ग्रामिण परिवेश संग जोडिएको उक्त ठाउँ सुन्दर, शान्त र मनोरम भएकोले पनि युवाहरुको रोजाईमा पर्न थालेको हो । गर्मीको समयमा शितलता प्रदान हुने र आनन्दको अनुभूति हुनेहुँदा पनि साँझपख तिर त्यस क्षेत्रमा पुगेर रमाउनेहरुको संख्या वढ्दै गएको छ।

वाहिरी जिल्लाहरुबाट बेनी तथा तातोपानी घुम्न आएकाहरु समेत मुनसन पार्कमा पुगेर रमाउन थालेका द मुनसन युथ क्लवका अध्यक्ष दिनेश बानियाँले बताए ।

म्याग्दी खोलाको किनारमा अवस्थित र बाक्लो रुपमा सिसौका रुखहरु भएकाले पनि यो ठाउँ अत्यन्तै सुन्दर रहेको छ । अहिले द मुनसन युथ क्लवले पिकनिक स्पट र पार्कलाई थप व्यवस्थित गरेको छ । रुखहरुमा रंगरोगन सहित बाटोमा गिट्टी विछ्याएर थप आकर्षक बनाईएको छ ।

बेनपा–२ बगरफाँट घुमाउने चौतारी कोप्रे, बेनपा ३ दुदेखोला, बेनपा ६ चुत्रेनी, कोटेसाघु र बेनपा ५ बगुवाखोला नयाँपुल सम्म फोहोर फाल्ने डस्टविन राखेको क्लवका अध्यक्ष बानियाँले बताए । क्लवले जनश्रमदान सहित रु ८० हजारको लागतमा पार्कलाई थप व्यवस्थापन गरेको हो ।

पिकनिक स्पट तथा पार्कमा परिवार सहित वा समुहमा आएर पिकनिक खाने, मनोरञ्जन गर्ने तथा अन्य भेला तथा कार्यक्रमहरु समेत खुल्ला ठाउँमा संचालन गर्न सकिनेसुविधा रहेको छ ।

पिकनिक स्पट नजिकै रहेको मुनसन खेलमैदानमा हिजोआज प्रत्येक शनिवार क्रिकेट खेल संचालन हुने गर्दछ । निकै फराकिलो खेल मैदान भएकाले फुटबल खेल समेत बेला बेलामा संचालन हुँदै आएको छ । बेनी बजारको नजिकै रहेको हुँनाले यस क्षेत्रको थप विकास हुन सके आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयको भनाई छ ।

Leave a Reply