बढ्दो शहरीकरणसँगै फोहोर व्यवस्थापनमा सास्ती भोग्दै आएको म्याग्दीको मंगला गाउँपालिकालाई डम्पिङ साइड नहुदाँ दुःखाइको विषय बनेको छ । नकुहिने तथा कुहिने फोहोरको बर्गिकरणमा समेत अलमलमा पर्ने अवस्थामा गाउँपालिकास्तरीय फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम दिएको छ ।

पाँचवटै वडाबाट विद्यार्थी सहित टोलसुधार समितिका प्रतिनिधिलाई फोहोरबाट मोहर बनाउने कार्यको थालनी गर्न नकुहिने फोहोरबाट आयआर्जन तथा कुहिने फोहोरबाट मल बनाउने सकिने सीप सिकाइएको छ ।

स्वच्छ र सफा मंगला बनाउने अभियान अन्तर्गत घरबाट निस्किने फोहोर कुहिने र नकुहिने छुट्याई बिक्री गर्ने, पलाष्ट्रिकजन्य साम्रागीबाट विभिन्न किसिमका फुल, गमला र चकटी सहितका आर्कषक साम्रागी बनाउन सिकाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

प्लास्टिक, सिसा, फलाम÷टिन, आल्मुनियम, रबरबाट विभिन्न किसिमका साम्रागी बनाएर समेत बिक्री गर्न सकिने र बाँकी रहेको काम नलाग्ने फोहोरलाई अस्थायी डम्पिङ साइटमा लगेर व्यवस्थापन गर्ने विधिका बारेमा समेत जानकारी गराइएको थियो । तालिममा सहभागी विद्यार्थी कस्तुप गिरीले फोहोरबाट माला, गमला र अन्य साम्रागी बनाएर बिक्री गर्न सकिने भएकाले घरमा समेत सिकाउने बताउँछन् ।

मंगला गाउँपालिका अन्तर्गत कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनसहित पाँचवटै वडाका सहभागीलाई प्रशिक्षक श्रीरेन्द्रप्रकाश पोखरेलले फोहोरबाट मोहोर, विकारबाट आकार र पिसाबबाट हिसाब निकाल्न सकिने भन्दै फोहोरबाट मनग्गे आम्दानी हुने विधिका बारेमा समेत सिकाएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले तालिममा सहभागिबाट सिकेको सीपलाई प्रयोग गर्ने वातावरण बनाउने र आगामी निति तथा कार्यक्रममा समेत फोहोर ब्यवस्थापनलाई प्राथमिकता दिने बताए ।

कुहिने वस्तुलाई कम्पोष्ट मल बनाउन उपयोग हुन्छ । विगत ५ बर्षदेखि नकुहिने सामग्री शिशाजन्य, फलाम, प्लास्टिक, कपाल जस्ता वस्तुलाई पनि वर्गीकरण गर्दै हस्तकलाका साम्रागी बनाएर बिक्री गदैं आएकी सुशिला रोकाले खेर गएको साम्रागीबाट माला बनाएर मात्रै १ लाखभन्दा बढी आम्दानी गरेको र अन्य साम्रागी समेत बनाएर विदेशसम्म पठाएको बताउँछिन् ।

Leave a Reply