गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ।

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त छलफलमा भाग लिंदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीं कतै उल्लेख नभएको बताए।

लोकतन्त्रमा प्रेसलाई चौथो अंग मानिएको तर नीति तथा कार्यक्रममा आमसञ्चारको विषय नआउनु उचित नभएको जिकिर गरे।

प्रदेशसभा सदस्य अधिकारीले भूमि बैंक सम्बन्धमा नीति निर्माण गर्नुपर्ने बताए। उनले यससँग सम्बन्धित स्पष्ट नीति आउनुपर्ने धारणा राखेका थिए।

योजना बैंकका सम्बन्धमा सार्वभौम संसद्ले थाहा पाउनुपर्ने उनको भनाइ थियो। ‘कृषि भूमिको अतिक्रमण र खण्डकीकरण नियन्त्रण विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन’, प्रदेशसभा सदस्य अधिकारीले भने।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उद्यमशीलतामा सहकारी क्षेत्रको परिचालनका विषय उल्लेख नभएको उनले बताए।

सहकारीको विकृतिका सम्बन्धमा प्रदेश सरकार गम्भीर बन्नुपर्ने प्रदेशसभा सदस्य अधिकारीले बताए।

Leave a Reply