म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानामा अवस्थित ज्ञानप्रकाश माविमा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीले ५० हजार देखि १ लाख नगद पुरस्कार पाएका छन् । पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेशनले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जालीलाई नगद १ लाख नगद सहित सम्मानपत्रले सम्मानित भएका छन् ।

दानामा जन्मिएर पर्वतारोहणको क्षेत्रमा दर्जन किर्तिमानी कायम गरेका पूर्जाले विद्यालयमा स्थापना गरेको ४० लाखको अक्षयकोषबाट गतबर्षको एसइईमा विद्यालय प्रथम हुने अस्विन बिकलाई ८० हजार र कक्षा ८ मा प्रथम हुने अप्सन पुर्जाले नगद ५० हजार नगद र सम्मानपत्र प्राप्त गरेका छन् ।

म्याग्दी जिल्लामा सामुदायिक विद्यालयमा हालसम्मकै सबैभन्दा ठूलो धनराशीको पुरस्कारबाट सम्मानित हुने विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, सहयोगदाता निर्मलका दाई जितबहादुर पुर्जाले पुरस्कार वितरण गरेका थिए।

सोही अवसरमा दानामा रहेका ४ वटा समुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गरिएको थियो भने ज्ञानप्रकाश माविको शैक्षिक विकासका लागि १ लाख ४७ हजार सहयोग गरिएको निम्स दाई फाउण्डेशनका प्रतिनिधि गणेश बरुवालले जानकारी दिए ।

पर्वतारोहणका क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीको सामाजिक उत्तरदाहित्व अन्तरगत शिक्षा क्षेत्रमा सहयोग गर्ने गरी विद्यालयमा स्थापना भएको कोषबाट हरेक बर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए ।

पुरस्कार तथा सहयोग वितरण कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपप्रमुख दिवा पुन, वडा अध्यक्ष रमेश पूर्जा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जा लगायतले बोलेका थिए ।

‘निम्स दाइ’ फर एजुकेशनका संस्थापक आरोही पूर्जाले आफ्ना कम्पनीको आम्दानीबाट शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गर्ने गरेको बताए । बार्षिक आर्कषक नगद सहितको सम्मानले विद्यालयमा विद्यार्थीको पहुँच बनाउन र उच्च शिक्षा हासिल गर्न बिद्यालयमा आकर्षित गराउने विद्यालयका उच्च शिक्षा संयोजक बाबुराम पौडेलको भनाई छ ।

अन्नपूर्ण–३ दानामा जन्मिएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेको सहित आधादर्र्जभन्दा बढी किर्तिमानी कायम गरेका छन् । उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडले जनाएको छ ।

 

Leave a Reply