पश्चिमको बाग्लुङ घर भई काठमाडौ बस्दै आएका एक युवा सुनचाँदी ठगी धन्दामा संलग्न भएको आरोपमा उदयपुरबाट पक्राउ परेका छन् । विभिन्न पसलमा गएर सुनचाँदीलगायत बहुमूल्य धातु किन्ने र भुक्तानीवापत मौज्दात रकम नभएको चेक दिदै ठगी हिड्ने ३६ वर्षीय सागर न्यौपाने भन्ने बाबुराम उपाध्यायलाई उदयपुर प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सुनचाँदी किनेर ‘एक–दुईदिनमै साटिन्छ’ भन्दै चेक दिने गरेको तर, चेक नसाटिने भएपछि उनीविरुद्ध उजुरी परेको थियो ।

प्रहरीका अनुसार उनीविरुद्ध खोटाङ, भोजपुर र ओखलढुंगामा उजुरी परिसकेको पाइएको छ । फरक फरक ठाउँमा फरक तरिकाले प्रस्तुत हुँदै ठग्दै हिड्ने उपाध्यायले गाईघाटका २–४ ठाउँमा सुनचाँदी किन्न मागेको थाहा पाएपछि शंका लागेर व्यापारीहरुले प्रहरीलाई खवर गरेका थिए । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहेका रुजल ज्वेवेलर्सका सञ्चालक रमेश रसाईलीका अनुसार बजारका सुनचाँदी पसलमा ठग्न खोजेको शंका लागेपछि प्रहरीलाई उजुरी दिएर पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले व्यवसायीहरुले खवर गरेपछि पछ्याउँदै जाँदा ठगी गर्न खोजेको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।

पक्राउ उपाध्यायलाई थप कारबाहीका लागि भोजपुर प्रहरीको जिम्मा लगाइएको थापाले बताए ।

Leave a Reply