सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान)ले म्याग्दीका लेख बहादुर हमाल गण्डकी प्रदेशको उत्कृष्ट प्रधानाध्याप सम्मान प्रदान गरेको छ ।

देशभरका प्रअको साझा संस्था पानको शनिबार काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनको औपचारिक कार्यक्रमबीच म्याग्दीको बेनी नगरपालिका–७,बेनीबजारमा अवस्थित प्रकाश माविका प्रअ हमाल तोकिएको सूचकको आधारमा उत्कृष्ट प्रधानाध्यापक बन्न सफल हुनुभएको हो ।

नेतृत्व दक्षता, असल अभ्यास, विद्यालय वातावरण, गुणस्तरीय विकास तथा सुधार,समुदाय सहयोग परिचालन, सुशासन र सुचना प्रविधि दक्षता गरी ७ आधारमा प्रअ हमाललाई अन्य प्रतिस्पर्धीको तुलनामा उत्कृष्ट रहेको प्रधानाध्यापक संघ नेपाल (पान)ले जनाएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रअहरु बिचको प्रतिस्पर्धामा थिए । सम्मानित भएपछि प्रअ हमालले सम्पूर्ण विद्यालय परिवारको मेहनतका कारण यो सम्मान प्राप्त गरेको बताउनुभयो । ‘यो सम्मानले उर्जा थपिएको छ,आगामी दिनमा पनि उत्कृष्ट नतिजाका लागि निरन्तर सक्रिय हुनेछु’ प्रअ हमालले भन्नुभयो । म्याग्दी जिल्लाकै पूरानोमध्येमा पर्ने प्रकाश माविले पछिल्लो समय एसइईमा लगातार उत्कृष्ट नतिजासँगै अतिरिक्त क्रियाकलाप सहितका गतिविधिमा समेत आफुँलाई अब्बल सावित गरिरहेको छ ।

यता पानका म्याग्दी अध्यक्ष शान्तबहादुर नेपालीले सामुदायिक विद्यालयका प्रधानाध्यापक बिचको क्षमताको मापन गर्ने यो विधिले सबै विद्यालयका प्रअलाई उत्कृष्ट बन्ने वातावरण बनाएको बताउनुभयो । देशैभरका प्रअ बिच ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्दै पेशागत रुपमा आइपर्ने समस्या र समाधानका आदानप्रदान गर्न समेत सहज भएको बताउनुभयो ।

Leave a Reply