पूजापाठमा प्रयोग हुने सिन्के धूप विस्थापित गरी अर्गानिक धुपको प्रयोग तथा ब्यवसायिक उत्पादनलाई प्रोत्साहन गर्न पर्वतको जलजला गाउँपालिका वडा नं २ का महिलालाई पाँच दिने धूप बनाउने तालिम सञ्चालन गरिएको छ ।

जलजला गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा दुई चरणमा सञ्चालन गर्ने गरी वडा कार्यालयको सभाहलमा आयोजित तालिममा ७५ महिलाको सहभागिता रहेको छ । वडाभित्रका महिलालाई आयआर्जन र दैनिक पूजापाठ, मन्दिरमा प्रयोग गरिने धूप बनाउने तालिमको प्रशिक्षण ब्यवसायी सिर्जना श्रेष्ठले दिनुभएको छ ।

पहिलो चरणको तीनदिने शुक्रबार सम्पन्न हुने र अर्को दुई दिने तालिम आइतबारदेखि बौरमा रहेका महिलाको सहभागितामा हुने वडा सचिव सोभा सापकोटाले जानकारी दिनुभयो । सिन्के धूपबाट निस्कने धुवाँले फोक्सोलाई असर गर्ने जानकारी पाएका महिलाहरू तालिममा सिकेको सीपलाई घरायसी प्रयोजनसँगै बिक्री समेत गर्ने प्रतिबद्धता जनाएको महिला अगुवा हेमकुमारी अधिकारीको भनाई छ ।

‘कम खर्चमा राम्रो आम्दानी पनि गर्न सकिन्छ, अब गाउँबाट सहरमा धूप पठाउँछौ’ तालिममा सहभागि अधिकारीले भन्नुभयो ।घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको वडा कार्यालयले जनाएको छ ।

बजारमा पाइने विभिन्न बाँस्नाका धूपबाट निस्कने सिन्के थुपको धुवाँ, लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा र श्वासनलीमा गम्भीर समस्या निम्त्याउने एक अनुसन्धानले देखाएको छ ।

Leave a Reply