म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो। कार्यक्रम मार्फत बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने तालिम दिइने वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

१ हप्तासम्म सञ्चालन हुने तालिममा ५० जनाको सहभागिता रहेको छ । आमा समूहलाई परिचालन गरेर महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर २ र १० लाई छनौट गरेको छ ।

वडा नम्बर १० पात्लेखेतमा २० जनाका लागि एक महिने बाजा बजाउने तालिम सञ्चालन गरिएको नगरपालिकाका योजना अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । पात्लेखेतका महिलाहरुलाई कुटानी, पिसानी मिल पनि उपलब्ध गराउने कार्यक्रम रहेको छ । गत बर्ष बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।

तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो । प्रदेश सरकारको सहयोगमा बेनी बजार नजिकै हाडेभिरमा रहेको साझा सुविधा केन्द्रलाई पुन सञ्चालन गर्न लागिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो।

बेनी नगरपालिकाको वडा नम्बर २ का आमा समूहहरुको सञ्जालका सदस्य तुलसी सापकोटाले सञ्चालन गर्नुभएको भकुण्डेको तालिम उद्घाटन कार्यक्रममा पुर्व वडा अध्यक्ष हिराबहादुर थापा, सञ्जालका सल्लाहकार उषा घर्ति घिमिरे, राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले मन्तब्य र सचिव गिता शर्माले स्वागत गर्नुभएको थियो ।

Leave a Reply