म्याग्दीको रघुगंगा गाउँपालिका-३,मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो ।

विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले ७८ मत मत र भाइस क्याप्टेनमा कलम चुनाब चिन्हका बिजन भण्डारीले ७५ मत प्राप्त गरेर बिजयी हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समेत रहनुभएका निर्वाचन अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, क्याप्टेनमा कलम चुनाब चिन्हका अजिता भण्डारीले ३४ र भाइस क्याप्टेनमा बल चुनाब चिन्हका अप्सन शर्माले ४१ मत प्राप्त गरेका थिए भने क्याप्टेनमा ८ र भाइस क्याप्टेनतर्प ५ मत बदर भएको थियो । मतदानमा विद्यालयका कक्षा १ देखि १० सम्मका १२६ जना विद्यार्थीहरुमध्ये १२१ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रकृया हुँदै मतदानबाट विद्यार्थीहरुबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको जनाएको छ ।

एक साता अघि क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समयसिमाभित्र क्याप्टेनमा ५ जना र भाइस क्याप्टेनमा ६ जनाले मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता पछि उम्मेदवारी फिर्ता गर्ने दुई दिनको समयसिमा भित्र क्याप्टेनतर्फका ३ जना र भाइस क्याप्टेन तर्फकाट ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए ।

मतदान मार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रकृयामा विद्यार्थीहरुलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाईएको थियो । विद्यालयका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरुलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरुलाई चुनाब चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिईएको थियो।

प्रतिस्पधी विद्यार्थीहरुले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरुलाई मत समेत मागेका थिए । विहिवार दिउँसो २ बजदेखि मौन अवधि लागु गरेर प्रचार प्रसारमा रोक लगाईएको थियो । शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्वाधारण गरेर मतदान गराइएको थियो ।

निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरु सकुन्तला सुवेदीलाई निर्वाचन आयोगको प्रमुख, मिनबहादुर खत्रीलाई निर्वाचन आयुक्त, अर्जुन पौडेललाई निर्वाचत अधिकृत, सजनी मल्ललाई सहायक निर्वाचत अधिकृत, सुरेश थापा र दामोदर रिजाललाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको थियो । विद्यार्थीहरुलाई दुई छुट्टाछुट्टै कलरको मतपत्रमा क्याप्टेन र भाइस क्याटेन पदको चुनाब चिन्हमा मत संकेत गरेर मतदान गर्न लगाइएको थियो ।

मतदानलाई सम्पन्न गर्न विद्यार्थीहरुलाई नै सुरक्षाकर्मीको समेत भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरुले निर्वाचन परिवेक्षकको भूमिका निर्वाह गर्नुभएको विद्यालयका शिक्षक उर्मिला रेग्मीले बताउनुभयो । शुक्रवार दिनभर विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न भएको मतदानले संसदीय निर्वाचनको झल्को दिएको थियो ।

पाठ्याक्रममा नै विद्यार्थीहरुलाई निर्वाचन शिर्षकमा पठनपाठन गराउनुपर्ने र उनीहरुलाई निर्वाचनको व्यवहारिक शिक्षा दिन समेत संसदीय चुनावको सबै प्रकृयालाई अबलम्बन गरेर मतदान गराइएको शिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

नवविर्नाचित क्याप्टेन दर्जी र भाइस क्याप्टेन भण्डारीले सबै कक्षाकोठामा फोहोर संकलन गर्ने कुचो, डस्बीनको व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्थापन र अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसंग आबश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

निर्वाचित क्याप्टेन भाइस क्याप्टेनलाई आइतवार विद्यालयले सपथ ग्रहण संगै निर्वाचित भएको प्रमाणपत्र समेत उपलब्ध गराउने जनाइएको छ । विद्यार्थीका समस्याहरुबारे ध्यानकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहजीकरण गर्न र विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्न विद्यार्थीहरुमध्येबाटै क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको विद्यालयले जनाएको छ ।

Leave a Reply