म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् ।

व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय पोखराको सहयोगमा टिआई नेपालले बिहिबार बेनीमा आयोजना गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका योजना तथा कार्यक्रम सँग सम्बन्धित सार्वजनिक सुनुवाईमा सहभागी कृषकहरुले सिचाई र बजारको समस्या औल्याएका हुन् ।

बेनी नगरपालिका–९ तोरीपानीका ज्ञानबहादुर विश्वकर्माले मकैको विउको न्युनतम मूल्य निर्धारण गरि बजारको खोजीका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट सहजिकरण गरिदिन आग्रह गर्नुभयो ।

अर्का कृषक गोरी दर्जीले यसपाली आलु धेरै उत्पादन भएपछि रु. ३० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने अवस्था आउँदा ज्याला र लागत पनि नउठेको गुनासो गर्नुभयो । बेनपा ६ का मुक्ति खड्काले प्राविधिक जनशक्तिको कमीले कृषकले प्राविधिक सेवा पाउन समस्या भएको गुनासो गर्नुभयो ।

बेनपा–४ बास्कुनाका तिलक गुरुङले रोगकिरा नियन्त्रणका लागि विषादी छर्कन आधुनिक यन्त्र उपकरणको अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो । मरेकका कृषक इन्द्र थापाले सिचाईको असुविधाले खडेरीमा खेतीबाली मर्न थालेको बताउनुभयो ।

बेनपा २ का कृषक सोवित शर्माले कृषि कर्जाको सदुपयोग र कृषि बिमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषकलाई उत्पादनमा आधारित अनुदान दिन थालेको र कृषि उपजको बजारीकरणका लागि कालीपुलमा कृषि बजार भवन निर्माण थालिएको बताउनुभयो ।

उहाँले उत्पादीत कृषि उपज भण्डारण गरेर बेसिजनमा बजारमा लैजान सिंगामा चिस्यान गृह निर्माण गरि प्रयोगमा ल्याइएको बताउनुभयो । कृषकहरुले योजनाको माग गर्दा सिचाईका कार्यक्रम माग गर्न नगर प्रमुख केसीले आग्रह गर्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष आलु खेतीलाई जोड दिइएको र पहाडी काष्ठफल सम्बन्धी नाफा कार्यक्रम लागू हुन लागेको जानकारी गराउनुभयो । गत वर्ष जनशक्ति अभावमा बजेट कार्यान्वयनमा समस्या भएपनि यसपाली पर्याप्त जनशक्ति रहेको र स्थानीय तहसँग समन्वय गरेर प्राविधिक सेवा दिने गरिएको बताउनुभयो ।

 

Leave a Reply