गरगहना र पैसा लुटपाटकाको उदेश्यले दुई युवाले पर्वतको मल्लाजका दम्पत्तिको हत्या गरेको रहस्य खुलेको छ ।

चैत १९ गते पर्वतको जलजला गाउँपालिका–२ मल्लाज दहका ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी घरभित्रै मृत फेला परेका थिए ।

घरको ढोकामा ताल्चा लागेको अवस्थामा मृत फेला परेको घर्ती दम्पत्तिको हत्यारा पत्ता नलाग्दा प्रहरीको टाउको दुखाइ बनेको थियो ।

हत्या आरोपमा प्रहरीले पर्वतको जलजला गाउँपालिका–२ नेपानेका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोटका दीपक दर्जीलाई पक्राउ गरेको हो ।

‘गरगहना र पैसा लुटपाट’ को उदेश्यले दम्पत्तिको हत्यामा संग्लन विक र दर्जीलाई पर्वत प्रहरीले बिहीबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरेको छ ।

विकलाई जलजलाबाटै र दर्जीलाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए । अभियुक्तले गरगहना र पैसा लुट्न दम्पत्तिको हत्या गरेको वयान दिएको भुषालले बताए ।

‘१५ दिनदेखि नै हत्याको योजना बुनेको देखिन्छ’, उनले भने, ‘घटनाको अघिल्लो दिन पनि दिउँसो आधा घण्टा घटनास्थल पुगेर रेक्की गरेका रहेछन् ।’

काठको चिर्पट र हसियाँ प्रहार गरेर हत्या गरेको अभियुक्तले प्रहरीसमक्ष स्विकार गरेका छन् । डिएसपी भुषालका अनुसार हत्यारद्वय लागुपदार्थ दुव्र्यसनीमा फसेका व्यक्ति हुन् ।

कृष्ण विरुद्ध सवारी ज्यान मुद्वामा २०७५ सालमा बाग्लुङमा मुद्वा चलेको थियो । दर्जी ६ महिना अघि मात्रै सुधार गृहबाट निस्किएका हुन् ।

‘लागु पदार्थमा फसेकासँगै घरको आर्थिक अवस्था पनि कमजोर भएकाले गहना लुटपाट गर्न हत्या गरेको खुलेको छ’, डिएसपी भुषाले सुनाए ।

हत्यारा पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले मात्रै सम्भव नभएपछि केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) समेत पर्वत आएर अनुसन्धान गरेको थियो ।

दम्पत्तिको हत्यापछि घरमा भएको नगद, गरगहना र रिचार्ज कार्डसमेत लुटेर भागेका थिए । हत्यापछि उनीहरु पैदल हिँडेर मालढुंगा पुगेका थिए । मालढुंगाबाट सवारीसाधन चढेर पोखराको बागलुङ बसपार्कमा झरेको प्रहरीले जनाएको छ ।

मृतकको शरीरबाट निकालेको गहना कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाका ६० बर्षिय कर्णबहादुर विकलाई सुन गाल्न लगाएर उनीहरु बागलुङ फर्के । बाग्लुङको पूर्णिमा सुनचाँदी पसलमा सुन विक्री गरेर प्राप्त पैसा बाँडेर विक र दर्जी छुट्टिएको बताउँछन् ।

अभियुक्तद्वयको ४ बर्ष अगाडि नै चिनापर्ची थियो । बैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्नलाई दीपकले योजना बुनेका थिए । हत्यामा संग्लन कृष्णसँग मृतक सूर्यबहादुर चिनजान थियो । लुटपाटको क्रममा परिचय खुल्ने भएपछि हत्या गरेको प्रहरीसमक्ष वयान दिएका छन् ।

Leave a Reply