तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज २० वर्ष पुगेको छ। २०६० साल चैत ७ गते राति ११ बजेदेखि भोलिपल्ट १०ः४५ बजेसम्म माओवादीले आक्रमण गर्दा रणभूिमा परिणत भएको थियो । बेनी आक्रमणको २० बर्ष अर्थात दुई दशक पुगेको छ ।
पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण ’जनयुद्ध’को आठ वर्षको अनुभवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका नौ ओटा आक्रमणमध्ये सैन्य वल र आक्रमणको व्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लगातार १२ घण्टाभन्दा बढी समय लडेर मध्ये दिनसम्म कब्जा गरेको पहिलो थियो ।
बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मङ्गलसेन), भेरी–कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती–महाकाली क्षेत्रको तेस्रो (लिस्ने–ग्राम) र गण्डक क्षेत्रको (बासु स्मृति) चौथो ब्रिगेड अन्तर्गतका ६ बटालियनका करिव ५ हजार माओवादी लडाकु सहभागी थिए ।
माओवादीले प्रयोग गरेका ’मानव ढाल र अन्य भरिया’ गरी १० हजारको हाराहारीमा म्याग्दी आक्रमणका लागि आएको सरकारी पक्षको भनाई छ भने माओवादीले जनयूद्धमा होमिएकाको मात्रै सहभागितामा बेनी आक्रमण गरेको दावी गरेको छ।
बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भई रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै म्याग्दीको धवलागिरी गाउँपालिकाको मुना, लुलाङ, ताकम हुदै आएको थियो । थवाङबाट घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि ०६० चैत ७ गते राति १० बजे जिल्ला कारागार, प्रहरी र सैनिक व्यारेकमाथी गोली बर्साएका थिए ।
बेनी आक्रमणको पहिलो गोली बेनीस्थित महारानीथान आसपासबाट भएको थियो भने मंगलाघाटमा गस्तीमा रहेका सेनासँगका जम्काभेटमा सेना र प्रहरी मारिएका थिए ।
बेनीमा रहेको टेलिफोन रिपिटर टावर, गाविस भवनहरू, कृषि, भेटेनरी, कृषि विकास बैङ्कलगायतका दर्जनौँ कार्यालय विष्फोट÷जलाएर नष्ट पारिए । सदरमुकाम आक्रमणका क्रममा मात्र जिल्ला अदालत, जिल्ला प्रशासन, जिविस, प्रहरी, वन, कारागार, टेलिकमको एक्सचेन्ज स्टेसन, पुस्तकालय, मालपोत, नेपाल बैङ्क, अर्थुङ्गे गाविस कार्यालयलगायत दर्जनौँ सरकारी कार्यालय नष्ट भएको थियो ।
तत्कालिन रक्षा मन्त्रालयको विज्ञप्तिमा ५ सय माओवादी मारिएको र माओवादीहरूले १ सय २५ जना ’शाही सेना’ र २६ जना प्रहरी मारिएको दावी गरे पनि बेनी आक्रमणमा तत्काल पुष्टि भएको भने १७ जना प्रहरी र १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए ।
भिडन्तमा दुवै तर्फगरी सयौँको सङ्ख्यामा घाइते भए । घाइतेहरू मध्येबाट दुवैतर्फके कति मृत्यु भयो, यकिन तथ्याङ्क कहीँ कतै पाईँदैन । बेनी आक्रमणका क्रममा दुई जना बालबालिकासहित १९ जना सर्वसाधारण मारिए ।
बेनी आक्रमणका क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर गौतमसहित ४० जना कब्जामा परेका ’युद्धबन्दी’लाई माओवादी पश्चिम डिभिजन कमिसार नेत्र विक्रम चन्द ’विप्लव’ र कमाण्डर नन्दकिशोर पुन ’पासाङ’ पूर्व उपराष्ट्रपति)ले वक्तव्यमार्फत मातृका यादव, शुरेश आले र किरण शर्मालाई मुक्त गरेपछि मात्रै सरकारी टोलीलाई रिहा गर्ने घोषणा गरेका थिए ।
तत्कालिन प्रजिअ पराजुलीले माओवादीले यूद्धबन्दीको रुपमा सम्मान गरेको बताएका थिए । आक्राण्मा मारिएका कालिकोटको नरहरिनाथ गाउँपालिका कमलबहादुर बिष्ट ’बहुवीर’ र अमरबहादुर किक ’योद्धा’ लाई मरनोप्रान्त जनसेवाश्री पदकद्वारा विभूषित समेत गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले गरेका नौ ओटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण एक हो ।
बेनी आक्रमणपछि माओवादीको सैन्यशक्ती कमजोर भएको थियो भने माओवादीले त्यसपछिका आक्रमणमा सोचेजस्तो नतिजा नआएपछि शान्ति प्रक्रियामा प्रवेशको वातावरण बनेको थियो । बेनी आक्रमणमा सेनाको ब्यारेक कब्जा गर्न सकेको भए माओवादीको यूद्ध लम्बिने अवस्था रहेको म्याग्दीका माओवादी नेताहरुको भनाई छ ।
तत्कालिन समयमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनमा माओवादीले बेनी आक्रमण गर्दा युद्ध अपराधको अन्तर्राष्ट्रिय नियमविपरीत नसालु पदार्थ सेवन गराएर कार्यकर्तालाई युद्धमा सामेल गराएको बताएको थियो ।
आयोगले ५ वर्ष समय लगाएर गरेको अनुसन्धान अनुसार युद्ध मोर्चामा रहेका लडाकुलाई उत्तेजनामा आउने नसालु पदार्थ सुई (सिरिन्ज) मार्फत सेवन गराइएको उल्लेख गरिएको छ। जेनेभा महासन्धिले युद्धका बेला सर्वसाधारणलाई निसाना बनाउन र कुनै पनि युद्धमा औषधि प्रयोग गर्न बर्जित मानिन्छ ।