सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेवीलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका-१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ ।
प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन् । तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ । तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचार प्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ ।
बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचार प्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नसक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवी एवम् दीपशिखा मावि कुहूँका भूतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताउनुभयो ।
उहाँका अनुसार म्याग्दीको प्रसिद्ध पर्यटकीय एवम् धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करिब ५० मिटर रहेको छ । पूर्व-पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ । गुफाको पूर्वतर्फ करिब ७० मिटरको दूरीमा तत्कालीन कुहूँले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ ।
१६.२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसङ्ख्या रहेको छ । मगरको बाक्लो बस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक, जैविक र सांस्कृतिक सम्पदाले महत्त्वपूर्ण भए पनि भाषाको अभावमा कैयौँ सम्पदा पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले बताउनुभयो । “पछिल्लो समय कुहूँ पुर्ख्यौली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदैछ”, वडाध्यक्ष रोकाले बताउनुभयो ।
मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीन वटा भाषा प्रचलनमा रहेका रहेका छन् । म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको उहाँको भनाइ छ । चिटिक्क परेको बाक्लो बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्तिमुनिको अँध्यारो नियतिलाई भोग्न बाध्य भएको छ । यहाँ रहेको १७ औँ शताब्दीको सुरुङ, मालिका देवीको किंवदन्ती, गाउँको शिरानमा रहेको जङ्गलमा रहेका जैविक सम्पदा, ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषय खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताउनुभयो ।
उहाँका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृङ्खला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ । स्थानीय ज्येष्ठ नागरिकका अनुसार सो सुरुङको प्रवेश भाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका-४, सिङ्गा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ ।
सो सुरुङको भित्रीतर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व-पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ । सुरुङको प्रचार प्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ । रासस