म्याग्दीको सदरमुकाम बेनीमा एक यूवाको ज्यानै जाने गरी भएको घटना प्रकरणमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन म्याग्दीका सबै राजनीतिक दलले साझा प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति म्याग्दीले शु्क्रबार आयोजना गरेको सर्वदलिय र सर्वपक्षीय भेलामा घटनालाई कुनै प्रकारको राजनीतिकरण तथा प्रभावमा नपरी न्यायको पक्षमा उभिन र सम्बन्धित पक्षलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाज्यूको अध्यक्षतामा जिल्लाका समसामयिक विषयमा छलाफल गर्न बसेको सर्वदलीय,सर्वपक्षीय बैठकमा बेनीका घटनाले हामीलाई गम्भीर बनाएको र जिल्लाको शान्ति सुरक्षा प्रति थप चासो र चिन्ताको विषय बनाएकाले समाजमा हुने हरेक विकृति र घटनामा निस्पक्ष छानविन र घटनामा संलग्नहरुको पहिचानमा समेत सबै निकायबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिइएको छ । अनुसन्धानमा राजनीतिक प्रभावमुक्त र समाजमा घट्ने घटनालाई अनुसन्धानलाई सघाउन प्रविधियुक्त बनाउने बताइएको छ ।

सोही भेलाले म्याग्दी जिल्लाको समग्र विकास योजनालाई प्रभावकारी र दिगो विकासका लागि योजना प्राथामिकरण गरी साझा धारणा निर्माण गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्ने र जिल्ला सभा मार्फत साझा योजना बनाउन आग्रह समेत गरेको छ ।

त्यस्तै संघ प्रदेश र स्थानीय सरकारका चालु आ.व.२०८०÷०८१ का योजना तथा कार्यक्रमहरु कार्यान्यवनको चरणमा रहेको हुदाँ योजना तथा कार्यक्रमहरुलाई व्यवस्थित,पारदर्शी र प्रभावकारी ढङ्गले संचालन गर्न जिल्लाका सवै क्रियाशील राजनैतिक दलहरु प्रतिबद्द जनाएका छन् ।

भेलामा नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द पौडेल,नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बिरबहादुर थापा क्षत्री, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेकपा जिल्ला इन्चार्ज उषा सि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक याम बस्याल, उपस्थित थिए ।

त्यसैगरी जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष बेल बहादुर कटुवाल,जिल्ला समन्वय समितिको कार्यालयका जिसस अधिकारी राजेन्द्र प्रसाद पोख्रेलल सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, प्रहरी निरीक्षक कुमार गुरुङ,गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply