म्याग्दीको सदरमुकाम बेनीबजारमा आइतबारदेखि सुरु हुने १०औं माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजनामा ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्चमा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन् ।
‘तयारी पूरा भएको छ, सबैको साथ र सहयोगबाट मेलालाई भब्य बनाउने प्रयासमा छौ’श्रेष्ठले भनिन् । मेलाको उद्घाटनको अवसरमा सदरमुकाम बेनीबजार परिक्रममा गरी खुल्लामञ्चलमा उद्घाटन समारोह हुनेछ । मेलाको प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्ने तय भएको समितिकी सभापति अम्बिका श्रेष्ठले बताइन् । मेलामा मेलामा स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य रहेको छ ।
माघेसङ्क्रान्ति मेलामा स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुले समेत आन्तरिक पर्यटकलाई आर्कषित गर्ने बताइएको छ ।म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला आयोजना हुँदै आएको छ ।