यमराज तिमिल्सिना
‘मेरा साना दु:खले आर्ज्याको मुलुक होइन’, चार वर्ण छत्तीस जातको साझा फूलबारी हो । ‘यो राज्य दुई ढुङ्गा बीचको तरुल हो । चीनको बादशाहसँग राम्रो सम्बन्ध राख्नु, दक्षिणको समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देसका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्न्याँ छन् ।’प्रजा मोटा भया देश बलियो हुन्न्याँ छ । यति कुरालाई मात्र मनन गरियो भने राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्न कसैले पनि हिचकिचाउनु पर्ने देखिदैन । जुन भनाइमा अभूतपूर्व राष्ट्रप्रेम छछल्किन्छ ।
इतिहास मेटेर मेटिदैन ! एउटा भनाइ नै छ नि “तपाईं इतिहाससँग विमति राख्न सक्नुहुन्छ ! तर, त्यसलाई बदल्न सक्नु हुन्न । शासकले इतिहासलाई आफू अनुकूल बङ्ग्याउन सक्छन् तर पूरै पुर्नलेखन गर्न भने सक्दैनन् । पौष २७ गते एउटा राजाको जन्मदिन मात्र होइन सिङ्गो नेपाली पहिचानको विगुल फुकिएको दिन हो । पृथ्वीनारायणले वि.सं. १८०० मा बनारस भ्रमण गर्दा त्यहाँ अङ्ग्रेजले भारतीय परम्परा र संस्कृति ध्वस्त पारेको आफ्नै आँखाले देखेका देखे । भारतीय जनतालाई दु:ख दिएको देखेपछि नेपालमा आएर स–साना राज्यहरू एकीकरण गरेर नेपालको अस्मिता जोगाउने कामतिर लागेका थिए ।
एकीकरणको दौरानमा कीर्तिपुरको विजयपछि पृथ्वीनारायणबाट सशंकित भएर तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली फौजबाट बचाइदिन इष्टईन्डिया कम्पनी सरकारसँग सहायता मागेपछि अङ्ग्रेज कप्तान किन्लकको नेतृत्वमा अंग्रेज सेना जयप्रकाशको सहायताका लागी काठमाडौंमा पठाइयो । सिन्धुलिगढिमा अंग्रेज र गोर्खाली सेनाको झडप भयो । पृथ्वीनारायण शाह नेतृत्वको गोर्खाली सेनाले बङ्गाली सेनालाई मुलाकाटे झैं सोत्तर पारेर एकै चिहान बनाएका थिए । बाँचेकाहरु भागाभाग/तितरबितर भएका थिए ।
विश्वका विशाल साम्राज्यका इतिहास मध्य ओटोमन, सोभियत संघ, जापानीज, मंगोल र रोम हुन् तर ती भन्दा पनि अङ्ग्रेज साम्राज्य तत्कालीन समयको अझ विशाल र शक्तिशाली मानिन्थ्यो । जुन त्यही ठूलो मानिने अङ्ग्रेज साम्राज्यलाई सिन्धुलिगढीमा भएको नेपाल अंग्रेजको युद्ध नै नेपालको अभुतपूर्व विजय थियो । त्यसैबाट अंग्रेजहरु नेपाली वीर/विरङ्गनादेखि डराइसकेका थिए ।
भारतीय भूगोलमा त्यतिबेला मै हुँ भन्ने ठूलाठूला शक्तिशाली ६०० बादशाहहरु थिए । जसले अङ्ग्रेजसँग युद्ध गर्न नसकेर गुलाम स्वीकार गरेर बसेका थिए । तर, नेपालमा पृथ्वीनारायण शाहको दृढ सङ्कल्प, अदम्य साहस र देशभक्ती भावले काम गरेर अङ्ग्रेजलाई नेपाली भूमिमाथि खुट्टा टेक्न समेत दिएका थिएनन् । दक्षिण एसियामा इसाई धर्म, त्यसले संरक्षण दिएका युरोपेली व्यापारी, तिनका कम्पनी तथा साँठगाँठका साम्राज्यवादी शक्तिका विरोधी हुन् ।
नेपालमा घुसपैठ हुन नदिनँ पूर्ण रूपमा कटिबद्ध थिए त्यही कटिबद्ध प्रतिबद्धताले नेपाल एक स्वाधीन राज्य रहन सफल भएको हो । पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता मात्रै होइनन् एसियाबाट अङ्ग्रेजको उपनिवेशवाद र विस्तारवाद विरुद्ध लड्ने एक्ला योद्धा तथा राजनेता हुन् । पृथ्वीनारायण शाह कुशल दूरदर्शी राजा, देशभक्त, सफल लडाकु, योद्धा, भएकै कारण आज नेपाल र नेपालीले विश्व मानचित्रमा मुलुकको नाम सुनौला अक्षरमा देख्न पाएका छौं भन्ने कुराको ज्ञात हुनैपर्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा स्वतन्त्र अमेरिकाको जन्म समेत भइसकेको थिएन । सन् १७८९ मा जर्ज वाशिङ्टन अमेरिकाको प्रथम राष्ट्रपति हुनु अघि नै पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले नेपालको सिमाना पूर्वमा टिस्टा देखि पश्चिमा कांगडासम्म पुर्याइसकेका थिए ।
पृथ्वीनारायण शाहबाट वि.सं. १८२५ मा काठमाडौं उपत्यका विजय गरेर विशाल नेपालको सिर्जना गरिएको समयभन्दा सय वर्षपछि सन् १८६८ मा टुक्रा-टुक्रामा विभाजित जर्मन र इटाली एकीकरणमा जुटेका थिए । त्यस्तै गरि सन् १८६८ अगाडि जापान ‘सोगुन’हरूको जहानियाँ शासनबाट ग्रसित थियो ।
नेपालको एकीकरण भइसकेपछि मात्र फ्रान्समा राज्यक्रान्ति भएको थियो । जसले जे भने पनि, जस्तो आरोप लगाए पनि राजा पृथ्वीनारायण शाहको तत्कालीन निर्णय दूरगामी अनि नेपाल र नेपालीको हितको खातिर नै थियो छ र रहनेछ । जसरी फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत आदी मुलुकले आफ्नो सीमा विस्तार गरेका थिए त्यसरी नै पृथ्वीनारायण शाहले पनि नेपालको एकीकरण गरेका हुन् ।
तत्कालीन अवस्थामा आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य थियो जुन पृथ्वीनारायण शाहले गरे । त्यसैले पनि पृथ्वीनारायण शाहले गरेको सीमा विस्तार विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा गरेको हो भन्ने कुरा आत्मसात गर्नु नै इतिहासप्रति इमानदार बन्नु हो । किनभने राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरेका थिए तर पछि उनले आफ्ना तीन छोरालाई काठमाडौँ, ललितपुर र भक्तपुरका रूपमा विभाजन गरेर टुक्राटुक्रामा राज्य बाँडफाँड गरिसकेका थिए ।
विश्वका कैयौँ देशहरू अन्धकारमा रहेका बेला पृथ्वीनारायण शाहले नेपालको पुनर्एकीकरण गरेर नेपालको अस्मिता बचाउने काम गरेका थिए । बाइसे चौबिसे राज्यमा टुक्राटुक्रा भएको मुलुकलाई एक सूत्रमा बाँधेर नयाँ नेपालको जग बसालेका मात्र बसालेनन् तत्कालीन नेपालको राजनीति सामाजिक, साँस्कृतिक, आर्थिक आदि विभिन्न तहको अध्ययन, मनन र चिन्तन गरे र त्यसको विश्लेषण गरी निचोड निकालेर विभिन्न विषयमा नीतिहरू निर्धारण गरेका थिए ।
पृथ्वीनारायण शाह नेपाली राजनीतिकर्मीले मान्दै आएका कार्लमार्क्स, अब्राहम लिंकन, माहात्मा गान्धी भन्दा धेरै अघिका महान व्यक्ति हुन् । पृथ्वीनारायण शाहका विचार र दर्शन साँघुरो र सीमित स्वार्थको घेराभन्दा माथि उठेर हेर्यो भने विश्वमा प्रचलित प्रख्यात विचार र दर्शनकै हाराहारीमा मात्रै छैनन्, उत्कृष्ट छन् सधैं उपयोगी र सारगर्वित छन् ।
पृथ्वीनारायण शाहले आफ्ना कालजयी दिव्य उपदेशमार्फत् समाजको, राजनीति, अर्थनीति परराष्ट्रनीति, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताहरु कसरी सञ्चालित हुनुपर्छ भन्ने सिद्धान्तहरुलाई सरलीकृत गरेका छन् । १८ औँ शताब्दीका दिव्य उपदेशहरू २१औँ शताव्दीको अन्त्यतिर आएर पनि त्यत्तिकै लोकप्रिय तथा समय सान्दर्भिक छन् । तत्कालीन परिस्थितमा पनि कति उच्च सोच, गहन दार्शनिक भनाइ र समयसापेक्ष दूरदर्शीता प्रदर्शन भएको पाइन्छ ।
पृथ्वीनारायण शाहको सट्टा अरु कुनै व्यक्तिले मुलुकको एकीकरण गरेको भए पनि उसैलाई हामीले राष्ट्रनिर्माता मान्नुपर्ने हुन्थ्यो जुन काम पृथ्वीनारायण शाहबाट हुन पुग्यो । गोर्खा राज्यको विस्तार वा नेपालको पुनर्एकीकरण पृथ्वीनारायण शाहले नगरेका भए अहिले हामी सार्वभौम मुलुकको स्वतन्त्र नागरिक भनेर गर्व गर्ने अवस्थामा हुन्थ्यौं कि हुन्थेनौं भन्ने कुराको विवेचना गर्नुपर्छ । एक शाह वंशीय राजा भएकै कारण पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न कन्चुस्याई गर्नु उनको योगदानलाई अवमूल्यन गर्नु हो भने इतिहासको सहि मूल्यांकन नहुनु हो ।
युद्धका क्रममा पृथ्वीनारायण शाहको पक्षबाट पनि कमजोरी भए जुन युद्धमा स्वाभाविक पनि मानिन्छ । देश बनाउन कसै न कसैको महत्वाकांक्षी योजना साहस, संकल्प र दुरदर्शीता चाहिन्छ नै जित्नेले आफूअनुकूल केही न केही प्रभाव र निर्णय गराउने स्वाभाविक प्रक्रियालाई तत्कालीन अवस्थाको आँखाबाट हेर्ने हो भने अस्वाभाविक प्रभुत्व जमाएको भनेर भन्न सकिने अवस्था देखिदैन पनि । किनभने जहाँजहाँ पृथ्वीनारायण शाहले जीत हाँसिल गरे त्यहाँत्यहाँका धर्म,संस्कृति चाडपर्व, रितिरिवाजमा स्वयम् आफै उपस्थित भएर मौलिकता नमासिने किसिमले गराएका छन् ।
शाहको सम्पूर्ण जीवन युद्धमा बिते पनि उनले शासन सुधार्ने र जनतालाई सुख सुबिधा दिने काममा प्रशस्त ध्यान दिएको देखिन्छ । जातीय तथा वर्गीय भेदभाव नराखी सबैसँग सरसल्लाह गरेर विशाल मुलुकको स्थापना गरेको पाइन्छ । साम, दाम, दण्ड, भेदको नीति भने पूर्णतया अख्तियार गरेको पाइन्छ ।
आजको प्रजातान्त्रिक युगको चेत र तत्कालीन चेतलाई सँगै राखेर दाँजीयो भने त्यो सुहाउँदो कुरा होइन । तत्कालीन परिस्थितिको बाध्यतालाई लिएर आज पृथ्वीनारायण शाहलाई विस्तारवादी र तानाशाह राजा भन्नु तर्कसंगत देखिदैन । तत्कालीन विश्वमा एकीकरण, राज्य विस्तार वा एकीकरण मत/अभिमतको आधारमा सम्भव नै थिएन, युद्ध गरेर परास्त गर्नु नै अभ्यास थियो । यसर्थ पृथ्वीनारायण दूरदर्शी राजा, लडाकू र राजनीतिज्ञ थिए । आज शाहको सम्मान गर्नु वर्तमान नेपालको पनि सम्मान गर्नु हो ।
पृथ्वीनारायण शाह वास्तवमा कस्ता थिए भन्ने कुराको आधिकारिक तस्विर भेटिदैन । पृथ्वीनारायण शाह जिवित हुँदै गढवाली चित्रकार ‘मौलाराम’ भन्ने व्यक्तिले शाहको एउटा चित्र कोरिदिएका थिए जसलाई पृथ्वीनारायण शाहको पहिलो र एक मात्र चित्र मानिन्छ । सोही अनुसार आजभोलि पृथ्वीनारायण शाहको चित्र र सालिक बनाउने गरिन्छ ।