सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय बैठकबाट गरिएको छ । सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले बताइन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको छ ।
आउँदा दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताइन् । घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकबाट आह्वान गरिएको उनले जानकारी दिइन् । घटनाको छानबिनका आधारमा सरकार अघि बढ्ने उनको भनाइ छ ।
गोली चलाउन आदेश दिने कर्मचारी, डीएसी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उनले बताइन् । अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई राम्रोसँग बुझाउन नसक्दा र भीड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिव गुरुदत्त सुवेदी (कोरिया शाखा कार्यालयका निर्देशक) लाई पनि निलम्बन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
ईपीएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो ।