नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनु भन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो‘ । दृष्टिबिहिन सुस्मिता विकलाई पनि उखानै भनेजस्तै सहयोग मिलेको छ । जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गदैं घर खर्च जुटाउने गरेकी धवलागिरी गाउँपालिका-७,ताकमकी सुस्मिता लाउड स्पिकर भाडामा लिएर हिड्ने गरेकी थिइन्।

सदरमुकाम बेनीबजारमा गीत गाउँदै हिड्ने गरेकी सुस्मितालाई धेरैजसो लाउड स्पिकरको भाडा तिर्ने पैसा समेत जुटाउन हम्मेहम्मे पर्थो । विहानै भोकभोकै कोठबाट निस्किएर बेनीबजारका चोक–चोकमा गीत गाएर बटुवाको मन जित्न सफल भएकी सुस्मिताले गीत गाउने स्पिकरका लागि दैनिक १ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेकी थिईन् ।गीत गाएरै जीविकोपार्जनका लागि आर्थिक जोहो गर्न दृष्टिविहिन कलाकार सुस्मिताको आवश्यकताका बारेमा समाचार प्रकाशित भएपछि म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग ढक्कीघरे हाल यूकेका रहेका नक्कु पूजा, धर्मपत्नी तारा पूर्जा र छोराछोरी दर्पण पूजा र जेनित पूर्जाले २५ हजार बराबरको स्पिकर सहयोग गरेका छन् ।

यूकेमा रहेका नक्कु दम्पत्तीले आफ्ना दाजु लालकुमार पूर्जा र भाउजु स मायाँ पूर्जामार्फत सोमबार सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा एक कार्यक्रम गरी सुमिस्तालाई गुणस्तरीय स्पिकर हस्तान्तरण गरेका छन् ।

बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, यूवा नेता झलक आचार्यको उपस्थिती रहेको थियो । सोही अवसरमा लालबहादुर र समायाँले खाद्यान्न र नगद समेत सहयोग गरेका थिए ।

विभिन्न ठाउँमा गएर आर्थिक संकलनका लागि स्पिकर आवश्यक रहेको जानकारी पाएपछि सहयोग गरेको यूकेमा रहेका नक्कु पूर्जाले बताए । ‘पीडितको आवश्यकतालाई हाम्रो परिवारले सहयोग गरेको हो,‘सीप अनुसारको सहयोगले जीवन निर्वाहमा समेत सहज हुन्छ’ समाजसेवी पूर्जाले भने ।

दुःखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुदाँ समेत भोकभोकै गीत गाउने गरेकी छन् । साँझ बिहानको छाक टार्न विद्यालयमा जाने छोरालाई लिएर गीत गाउँदै सहयोग जुटाइरहेको अवस्थामा भाडा तिर्नुपर्ने झन्झटबाट मुक्त भएकोमा सहयोगदातालाई धन्यवाद दिईन् ।

उनले नयाँ स्पिकरबाटै सहयोगदातालाई धन्यवाद दिईन र गीत गाएर समेत सुनाइन। ‘अब स्पिकरको भाडा तिर्नुपर्ने समस्या टरेको छ, त्यही पैसा पनि बचत भए मेरो घरखर्च चल्छ’ उनले भनिन् । सुस्मिताका एक छोरा र चार छोरी छन् । छोराछोरी पढाउनदेखि सबै घरखर्च गीतबाट जुटाउनुपर्ने बाध्यता छ । आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिड्ने बटुवा, ब्यापारीको समेत आँखा पनि रसिलो हुन्छ ।

दृष्टिविहिन भएकैले सुस्मिता र उनका श्रीमान समेत दृष्टिविहिन हुन्। पहिले संंगै गीत गाउने श्रीमान जलन विक अहिले पोखरामा बस्छन् । ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्ने गरेकी सुस्मिताको घाँटीमा समस्या हुदाँ पनि रोकिदैं गाउने गरेकी छन् । सुस्मिताको स्वर मिठो छ । हातमा माइक्रोफोन समातेर गीत गाउने गरेकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन् ।

Adv

 

Leave a Reply