म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबार कक्षा ५, ८ र १० मा अध्यापनरत शिक्षकहरुका लागि दुई दिने पाठ्यक्रम प्रवोधीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला शिक्षा समन्वय इकाई म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा मालिका गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका गणित,विज्ञान र नेपालीका गरी ९४ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नयाँ पाठ्यक्रममा पाठ्यक्रम विकास केन्द्रले निर्देशन गरेका सामान्य तथा विशिष्ट  उद्धेश्यहरु,सक्षमता,सिकाइ उपलव्धी,व्यवहारकुशल सिप,प्रयोगात्मक, खोजमूलक र व्यवहारिक ज्ञान,प्रश्नपत्र निर्माण पद्यति,अंकभार,अभिलेखीकरण,मूल्याङ्कन पद्यति लगाएतका विषयहरुमा सहभागि शिक्षकहरुलाई जानकारी गराइएको थियो।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दलवहादुर थापाले पाठ्यपुस्तक प्रवोधीकरण कार्यक्रम धेरै महत्वपूर्ण भएको भएता पनि अहिलेसम्म यो कार्यक्रम ओझेलमा परेकोले शिक्षकहरुलाई पनि अप्ठ्यारो महशुस भएको हुनसक्ने वताउँदै अव निरन्तर रुपमा यस्ता कार्यक्रमहरु संचालन गरिने जानकारी गराउनुभयो ।

त्यसैगरी मालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक रिजालले गाउँपालिकाको सीमित बजेट कारण शिक्षाका महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्न कठिनाई उत्पन्न भएको बताउनुभयो । आगामी दिनहरुमा गाउँपालिकाले यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रवोधीकरण कार्यक्रममा प्रशिक्षकहरु देविप्रसाद शर्मा (शिव सस्मीत),केशव रेग्मी,दिवाकर सुवेदी र खगेश्वर रिजालले सहभागि शिक्षकहरुलाई नयाँ पाठ्यक्रममा निर्दिष्ट निर्देशनलाई मनन गरी अध्यापन गर्नुपर्ने बताउनुभएको थियो ।

Leave a Reply