पोखरामा बस चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पोखराबाट बस चोरेर चितवन पुर्याएको अवस्थामा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षिया किशोर पक्राउ परेका हुन्।
किशोरलाई चितवनको आँपटारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग.१ ख. ९६३८ नम्बरको बस मंसिर २२ गते शुक्रबार हराएको थियो। पार्किङ गरेर राखेको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासको क्रममा चितवनको भरतपुर लैजाँदै गरेको अवस्थामा किशोरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उनका अनुसार किशोर आफैले चलाएर बस भरतपुरको आँपटारीतर्फ लैजाँदै थिए।
प्रहरीले किशोरसहित बसलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए। चोरी आरोपमा पक्राउ परेका किशोरलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा चलाउने तयारी गरिएको उनले बताए।
यसैबिच, स्कुटर चोरी गरेको आरोपमा अर्का एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पोखराका दुई छुट्टाछुट्टै ठाउँमा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले बागलुङ घर भई पोखरा–१६ दीप बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
किशोरले पोखरा–३ नदीपुर र पोखरा–१ बगरमा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोप छ। यही मंसिर १९ गते पोखराको नदीपुरबाट ग.१४ प. २०३४ नम्बरको स्कुटर र पोखराको बगरबाट ग.८ प. ९९३ नम्बरको स्कुटर हराएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासको क्रममा किशोर ग.१४ प. २०३४ नम्बरको स्कुटरसहित फेला परेपछि पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए। अनुसन्धानका क्रममा किशोरले दुई वटै स्कुटर चोरी गरेको स्वीकार गरेको उनले बताए।
स्कुटर चोरीको आरोपमा पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखिएको डिएसपी विकले जानकारी दिए। पक्राउ परेका किशोर यसअघि ३ पटकसम्म चोरी मुद्दामा पक्राउ भईसेकेको रेकर्डबाट खुलेको डिएसपी विकले बताए।
बस र स्कुटर चोरीमा संलग्न दुवै किशोरको नाम, वतन गोप्य राखिएको छ। नाबालक रहेको अवस्थामा उनीहरूको नाम, वतन गोप्य राख्ने गरिएको प्रहरीको भनाई छ। nagariknews.com