यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् । मङ्सिर जाडोको महिना ।
उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो ।
वैदेशिक रोजगार, सहर केन्द्रित बसाइसराइ र अध्ययन वा व्यापार-व्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका-६ दरबाङका बुद्धिजीवी एवम् पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताउनुभयो । “पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगार तर्फ उन्मुख हुँदै गएका छन् । कुनै सीप, इलम वा व्यवसाय नगरीकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रका महिला विशेष गरी व्यावसायिक कृषिमा रमाउन थालेका छन् । आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरूको रस बसेको छ ।”
पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन । मालिका-२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु (बर्खेआलु) बिक्री गरेर ३२ हजार आम्दानी भएको बताउनुभयो । विगतका वर्षमा बाँझै छोडिएको बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उहाँले बताउनुभयो ।
“चार वर्ष बाझिएको जग्गालाई खनजोत गरी मल हालेर चार हजार खर्च गरी कोदो रोपेको छु । यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ”, विकले भन्नुभयो, “कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ । भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन् ।” ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ ।
गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर २२ हजार आम्दानी गर्नुभएकी मालिका-५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै १७ हजारभन्दा बढी आम्दानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित आलु प्रतिपाथी एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुँदै आएको छ ।
मालिका गाउँपालिकाका सात वटै वडामा व्यावसायिकरुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । एकल र समूहगतरुपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताउनुभयो । उहाँका अनुसार आलुसँगै पछिल्लो समय यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् ।
सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौँदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताउनुभयो । “कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उहाँले भन्नुभयो, “पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ । कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”
आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका-१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । साथै, स्थानीय महिलाले वन पैदावारबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार वनमा पाइने रातो च्याउ, जङ्गली फलफूललगायतका वनस्पतिबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन् । रासस