कुनै जमानामा ‘बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल’ गीत खुब ‘हिट’ थियो । ‘नबोलाउ हातले बरु बोलाउ पिपलु पातले, किरे मिरे जाले रुमाल, बेनीको बजार जता माया उतै छ नजर किरे मिरे जाले रुमाल’ आम मानिसको जिब्रोमै झुण्डिन्थ्यो गीतको यो बोल । पुरानो पुस्ताका लाखौं नेपाली हिले पनि यो गीत गुनगुनाउँछन् । सबैको मन, मस्तिष्कमा बस्न सफल सदावहार गीतमा स्वर दिने गायिका हुन् मन छन्त्याल भने गीतका सर्जक थिए मनकै पति टीका श्रेष्ठ।
सर्जक श्रेष्ठको बि.स २०७७ चैत्र महिनामा मृत्यु भइसकेको छ । ७४ वर्ष पुुगेकी गायिका मन अहिले छायाँमा छिन् ।
२०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीतको ‘क्रेज’मा अहिलेसम्म कत्ति पनि कमी आएको पाइँदैन । गीतको बोल अरु धेरै गीतमा राखेर ती गीतले चर्चा पाएका छन् तर गीतकी गायिका मन भने गायन क्षेत्रभन्दा धेरै टाढा गुमनाम छिन्।
छन्त्याल अहिले आफ्नै घर रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा बस्दै आएकी छन् । यो गीतसँग छन्त्यालको नाम धेरै ठाउँमा जोडिएर आउँदैन ।
पछि ‘रिमिक्स’ भएर आएका गीतमा उनीहरूको पहिचान जोडिएको छैन । अहिले आएर आफ्नो गीतलाई रिमिक्स बनाएर बजारमा ल्याएको देख्दा मनलाई दुःख लाग्छ । ‘शुुरूमा मैले वास्ता गरिनँ । त्यसपछि कसैले नसोधी मेरो गीतलाई रिमिक्स बनाए । चर्चासँगै पैसा पनि कमाए । अहिले आएर यो त सम्पत्ति रहेछ भन्ने बल्ल बुुझें,’ मनले भनिन् ।
विक्रम संवत् २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौंको राष्ट्रिय नाचघरमा मन छन्त्यालले समूहमा गीत गाएकी थिइन् । दिवसको अवसरमा सांगीतिक कार्यक्रमका लागि साविक १४ अञ्चलबाटै कलाकारलाई काठमाडौं बोलाइएको थियो । ‘हामी चाहिँ धौलागिरी अञ्चलबाट छानिएर गएका हौं,’ मनले भनिन्, ‘त्यहाँ हाम्रो समूहले यानीमायाँ, सालैजो, ठाडो भाकाका गीत गाएका थियौं ।’ यो नै उनको सांगीतिक क्षेत्रको पहिलो पाइला थियो ।
मनलाई म्याग्दीबाट काठमाडौं लगेका थिए टीका श्रेष्ठले । मनको जन्म २००८ सालमा म्याग्दीको साविक कुुहिने मंगले गाविसमा भएको हो । टीका म्याग्दीमा शिक्षण पेशामा थिए । सानैदेखि सांगीतिक क्षेत्रसँग पनि नजिक थिए । काठमाडौंमा कार्यक्रमको लागि कलाकार उपलब्ध गराउन धौलागिरी अञ्चलका अञ्चलाधीशले श्रेष्ठलाई पत्र लेखे । साविक धौलागिरी अञ्चलका ४ वटै जिल्लाबाट कलाकार छान्नुपर्ने हुन्थ्यो ।
कलाकारहरू छानेर अञ्चलाधीश कहाँ लैजानुपर्दथ्यो । त्यहाँ गाउँदा राम्रो गरेपछि मात्र काठमाडौं लैजान कलाकारहरू छानिन्थे । श्रेष्ठकै नेतृत्वमा मन छन्त्याल लगायत अरु जिल्लाका गरी १२ जनाको टोली काठमाडौं पुगेर नाचघरमा आफ्नो कला प्रस्तुत गरेको थियो । त्योभन्दा पहिले खासै गीत नगाएकी मन छन्त्यालले त्यसपछि म्याग्दीमा स्कूलका केही कार्यक्रममा गीत गाइन् ।
२०२१ र २०२५ सालमा पनि प्रजातन्त्र दिवसको अवसरमा गीत गाउन मन छन्त्याल टीका सहितको टोलीसँग काठमाडौं गएकी थिइन् । टीकासँग मन छन्त्यालको सम्बन्ध पनि घनिष्ठ हुँदै गयो । अन्ततः बेनीको बजार गीत रेकर्डपछि २०३१ सालमै छन्त्याल र श्रेष्ठले विवाह गरी दाम्पत्य जीवन शुरू गरे ।
विवाहपछिको एक–डेढ वर्ष उनी काठमाडौंमै बसेकी थिइन् । एक ठाउँमा सिलाइकटाइ सिक्दै थिइन् । सिलाइकटाइ सिकेको ठाउँमा मनको माया लामासँग भेट भयो । मन बेलाबेलामा रेडियो नेपालमा गीत गाउन जाने गर्थिन् । त्यहाँ स्वर परीक्षा दिन मान्छेहरू आइरहने गर्थे । मन सम्झिन्छिन्, ‘स्वर परीक्षा पास भएमा गीत रेकर्ड गर्न पनि पाइने रहेछ, मैले पनि स्वर परीक्षा पास गरें ।’ स्वर परीक्षा पास गरेपछि उनले पनि गीत रेकर्ड गराइन्।
२०३१ सालमा मनले रेडियो नेपालमा रेकर्ड गरेको गीत थियो, ‘बेनीको बजार जता माया उतै छ नजर … ।’ रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यसबेला निकै बज्यो, धेरैको मन जित्यो ।‘रेडियोबाट दिनदिनै जसो त्यो गीत बज्थ्योे । मलाई त आफैंलाई आफ्नो स्वर खासै राम्रो लाग्थेन, मान्छेले खै किन रुचाएछन् ?’ उनी भन्छिन् । रेडियोबाट गीत सुन्दा उनी आफैं लजाउँथिन् ।
गीतको संकलनकर्ता उनका पति टीका नै हुन् । बेनीको बजार गीत रेकर्ड गराएबापत मनले ३५ रुपैयाँ पाएकी थिइन् । ‘गीतको पारिश्रमिक पाउन पनि धेरै धाउनुपरेको थियो,’ उनी सम्झिन्छिन् । ‘बेनीको बजार’पछि मनले ८–९ वटा गीत गाएर रेडियो नेपालमा रेकर्ड गराइन् । एउटा छन्त्याल भाषाको गीत, फूलको माया गाँसेर मायालाई …, फूलबारीमा फूल फूल्यो बोलको, सालैजो भाका लगायतका गीत उनले रेकर्ड गराइन् तर बेनीको बजार धेरैको जिब्रोमा झुण्डिने गीत बन्यो । काठमाडौंमा एक–डेढ वर्ष बसेपछि मन बुटवल झरिन् ।
यता आएपछि भने उनको सांगीतिक यात्रा अघि बढेन । ‘आर्थिक अवस्था खासै राम्रो थिएन । त्यसबेला गीत गाएर मात्र बाँच्न सक्ने अवस्था पनि थिएन । व्यापार व्यवसाय गर्नुप¥यो । बालबच्चा हुर्काउनुप¥यो,’ उनले भनिन् । धेरै गीत रेकर्ड नगरे पनि उनलाई पुरानो पुस्ताको गायिकाका रूपमा धेरैले सम्मान गरे । बुटवलमा शुरूआती ताकाका मेला महोत्सवमा हुने सांगीतिक कार्यक्रममा मन निर्णायक पनि बसिन् ।
उनको गीतलाई रिमिक्स गरिएकोप्रति केही गुनासो सुनाइन् । ‘पुरानो गीत फेरि निकाल्न खोजेछन् ठीकै छ भनियो, अहिले त आफ्नो कलाको धेरै महत्त्व रहेछ भन्ने लाग्यो,’ मनले भनिन्, ‘रोयल्टी पनि पाइने अवस्था रहेछ । हामीलाई थाहा थिएन । रोयल्टी खोज्दै पनि हिँडिएन, उनीहरूले पनि आऊ भनेनन् ।’ गीतमार्फत म्याग्दी र बेनी बजारलाई चिनाएको भन्दै मन छन्त्याल र टीकालाई सम्मान गर्न बेनी बोलाइयो । म्याग्दी जेसिज र म्याग्दी व्यापार संघले बेनीमा महोत्सवको आयोजना गरेका थिए ।
मनको जोडी मञ्चमा बस्दा बेनीको बजारको रिमिक्स गीत बज्यो । छन्त्याल अचम्मित भइन् । ‘अर्कैको स्वरमा गीत बजेपछि मेरो गीत होइन भनें । मैले गाएको गीतको त्यहाँ कुनै चक्का थिएन । बमबहादुर कार्की र खड्क गर्बुजा पनि महोत्सवमा पुग्नुभएको थियो,’ उनले सम्झिइन, ‘उहाँहरूले रेडियो नेपालमा फोन गरेर मेरो स्वरको गीत बजाउन भन्नुभयो । त्यसपछि महोत्सवमा मैले गाएको गीत बजेको थियो ।’
गीत चर्चाको शिखरमा पुगेको भए पनि मनले पहिले चाहेको समयमा आफ्ना गीत सुन्न पाइन्नथ्यो । अचेल भने कहिलेकाहीँ आफ्नोे नातिले उनको गीत सुनाइदिन्छन् ।‘यूट्युबबाट सर्च गरेर नातिले गीत लगाइदिन्छ, यो हजुरको गीत भन्छ,’ उनले सुनाइन्, ‘अहिले जस्तो समय भएको भए निरन्तर लागिन्थ्यो होला तर पनि खासै पछुतो छैन ।
’‘एउटा गीतले भए पनि केही चिनिने मौका पाएँ, सन्तुष्ट छु,’ उनले भनिन् । मनका २ छोरी छन् । उनको बुुढेसकालको सहारा छोरी बनेका छन् । लामो समयदेखि मिर्गाैला पीडित पति टीकाको मृत्युुपछि २ छोरीहरू आलोपालो माइतीमा आएर मनको रेखदेख गर्छन् ।
लोकान्तर डटकमका लागि प्रकाश आचार्यको लेख साभार