चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्को भनाइ छ।
नेपालीका लागि दशैँपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दशैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिस रमाउने गर्दछन्।
हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य ९लक्ष्मी०लाई खुशी बनाउने रोमाञ्चक चाड हो । तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको उहाँ बताउनुहुन्छ ।
आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृति देखिन थालेको पं पराजुलीले बताउनुभयो । “अरुबेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ, पं पराजुलीले भन्नुभयो, “यसले सबै प्राणीबीच समदृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाई ९दाजुभाइ० लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यस पर्व अहिले केबल औपचारिकतामा सीमित भएको उहाँको भनाइ छ ।
माटाको दियोबाट मैनबत्ती हुँदै बिजुलीको झिलीमिलीमा तिहार
पहिलापहिला माटाको दियो र अमिलाको पातमा बाति ९बत्ती० बालेर जिम फाल्ने चलन हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो । तर अहिले भने जताततै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलीमिली बत्तीमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाको भनाइ छ ।
पहिलापहिला दियो माटोको हुन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ तर मौलिकता रहँदैन । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको भन्दै उहाँले माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।
देउसीभैलो : पैसा असुल्ने माध्यम
तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ ।केही सामाजिक सङ्घसंस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिइ बेतालको नृत्य (डान्स) देखाउँदै देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् ।
हुन पनि आजकल गाइने देउसीभैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसीभैलो गीतमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठूला साउन्डबक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसीभैलो समूहहरु हिँडेका देखिएका छन् ।यस्तै हो भने केही वर्षपछि लोकबाजा र भैलीको मोलिकता हराउने निश्चित छ । रासस