वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् । मलेसिया र खाडी मुलुकमा कार्यरत नेपाली आप्रवासीमाथि सन् २०२३ मार्चदेखि अप्रिल अन्तिमसम्म यो अनुसन्धान गरिएको थियो ।
एक वर्षभित्र खाडीका मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी नेपाल फर्किएका सात सय १८ जना पुरुष र स्थानीय सात सय २० जना (तीन सय ७९ पुरुष र तीन सय ४१ महिला) बीच तुलनात्मक अध्ययन गरिएको थियो ।
अध्ययनको नतिजाअनुसार मिर्गौलाको बढी समस्या गैरआप्रवासीमाभन्दा आप्रवासी देखिएको छ । गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ ।
बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थासँग समन्वय गरी धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको अध्ययनले खाडीका मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गाैलाको खतरा बढी हुनसक्ने देखाएको छ ।
गर्मीमा ठाउँ, भवनबाहिर काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरूमा पनि मृगौला रोगको जोखिम बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रा हेरी त्यसमा उमेर र लिंग समायोजन गरी मिगौलाले एक मिनेटमा कति मात्रामा रगत छान्छ भन्ने निक्र्योल गरिएको र घट्दो दरले मृगौलाको कार्य क्षमतामा कमी आएको उल्लेख छ ।
रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आप्रवासीमा बढी देखिएको छ । उक्त अध्ययनबाट गैरआप्रवासी ०.७२ एमजी/डिएल र आप्रवासी ०.८८ एमजी/डिएल देखाएको छ । जसले गर्दा आप्रवासीहरूमा बढ्दो मृगौला समस्याको संकेत गरेको छ ।
यस्तै, मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीहरूमा बढी देखिएको छ । खासगरी, गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकोले यसको कारक तत्व खोज्न बेग्लै अध्ययन गर्नुपर्ने डा. निर्मल अर्यालले बताए ।
‘नेपाली दूतावास र आप्रवासीहरूको हकहितको लागि काम गर्ने संघसंस्थाहरूले यसमा पहल गर्न आवश्यक देखिएको छ,’ डा. अर्यालले भने । सहभागी आप्रवासीहरूले औसतमा दैनिक १०.७ घण्टा काम गर्ने गरेको र ३०.९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि बिदा लिने नगरेको अनुसन्धान समूहले बताए । ‘यस्तै २५.८ प्रतिशतले शारीरिक रूपले भारी र लगभग आधा सहभागीले (४५.५ प्रतिशत) गर्मीमा काम गनुपरेको छ,’ उनले भने, ‘करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको पाइएको छ ।’
आप्रवासी नेपाली कामदार र गैरअप्रवासीहरू बीच गरिएको यस पहिलो अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीहरूमा स्थानीय गैरअप्रवासीहरूको भन्दा बढी रोगको समस्या देखिएको छ । जहाँ उच्चरक्तचाप आप्रवासी ३८ प्रतिशत रहेको छ भने गैरआप्रवासी १९.४ प्रतिशत छ । त्यस्तै मधुमेह आप्रवासी ७.४ प्रतिशत, गैरआप्रवासी ४.७ प्रतिशत र बढीतौल वा मोटोपन आप्रवासीमा ६ सय ७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशतको जोखिम निकै बढी रहेको उक्त अनुसान्धान समूहले देखाएको छ ।
आप्रवासीहरूमा उच्चरक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकोले ती देशहरूमै यससम्बन्धी सचेतना जगाउन आवश्यक रहेको अनुसन्धान समूकले देखाएको छ । अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत भएको अनुसन्धानबाट खुल्न आएको छ । nagariknews.com