मोना कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा विक्रम कार्की

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्थापना गरेको मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारणसभाबाट बिक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मोना कतारमा आबद्ध रही नेपाल फर्किएकाहरुलाई सहयोग, सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने स्थापना भएको कोषको उपाध्यक्ष प्रेम रसाईली, सचिव तिलु शर्माकोषाध्यक्ष रमेश पौडेल रहेका छन् ।

त्यसैगरी सदस्यमा हरिकृष्ण गौतम, नरेन्द्र फगामी,अजय कुवँर, बालकृष्ण खत्री, लिला चोखाल, राजु पौडेल र टिका रोका मगर रहेका छन् । साधारण सभाको एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले उद्घाटन गदैं मोना कतारको लोकप्रिय कार्यबाट उत्साहित भएको बताए ।

उनले कतारमा रहेका नेपाली संघसंस्थामा मोना कतार निकै सक्रिय रहेको बताउँदै एनआरएनले समेत अभियानमा सहयोग गर्ने बताए । सोही अवसरमा गैर आवासीय नेपाली संघ एनआरएनएका केन्द्रिय अध्यक्ष रविना केसीले म्याग्देलीको एकता र सहकार्य लोभलाग्दो भएको बताईन् ।

म्याग्देली चेली केसीले मोनामार्फत हुने कार्यक्रहरुले जन्मभूमिप्रतिको मायाँ प्रष्ट हुने बताईन् । कोषका नवनिर्वाचित अध्यक्ष मोना कतारका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक कार्कीले म्याग्दी जिल्ला भित्र आइपर्ने प्राकृतिक प्रकोप तथा विपत्तीका समयमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने बताए ।

मोना कतार अक्षयकोषको संरक्षक रहेको कोष जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएको छ । कोषले ५ हजार ५ सय ५५ रुपैयाँ तिरेर आजीवन सदस्यता लिन सकिने व्यवस्थासमेत गरेको छ । बेनी नगरपालिका वडा नम्बर ७ बिरेन्द्रचोकमा कार्यालयसमेत स्थापना गरेको कोषमा १५ लाख ४३ हजार रुपैयाँ रहेकोमा १ करोड पुर्याउने लक्ष्य छ ।

कोष स्थापना गर्न आर्थिक, नैतिक, भौतिक, प्रशासनिक, कानुनी तथा विभिन्न माध्यमबाट सहयोग पु¥याउने सम्पूर्णलाई साधारणसभाको अवसरमा मोना कतारका अध्यक्ष राजु पौडेलले धन्यवाद सहित आभार समेत प्रकट गरेका छन् । सन् २०१९ बाट अक्षयकोषको लागि मोना कतारले गृहकार्य शुरु गरे पनि २०२१ मा कोषको स्थापना गरिएको थियो । सन् २००३ मा स्थापना भएको कोषको ंसंरक्षक मोना कतारले जिल्ला तथा कतारमा विभिन्न समस्यामा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।