मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा शुक्रबार

कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको संरक्षकत्वमा स्थापित ‘मोना कतार बहुउद्देश्यीय अक्षयकोष’को प्रथम साधारण सभा आउँदो शुक्रबार हुने भएको छ ।

नजिकिँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै साधारण सभासँगै दोस्रो रमाइलो तीज कार्यक्रम–२०२३ को पनि आयोजना गर्न लागिएको हो । कोषका अध्यक्ष विक्रम कार्कीले सनैयाको ग्राण्ड मलस्थित सेन्चुरी रेस्टुरेन्टमा स्थानीय समय अनुसार दिउँसो २ बजेबाट शुरु हुने कार्यक्रममा कतारमा रहेका म्याग्देलीहरुलाई उपस्थित हुन अनुरोध गरे ।

मोना कतार र अक्षयकोषको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक र खेलकुद विभागको सहआयोजनामा सम्पन्न हुन लागिरहेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक नरेन्द्र फगामीले  जानकारी दिए ।

फगामीले कार्यक्रममा म्याग्दीमा प्रचलित थालिनाच आकर्षणको केन्द्र रहने बताए । २०७९ साल माघ २७ गते जिल्ला प्रशासन कार्यालय म्याग्दी बेनीमा संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम दर्ता गरी सञ्चालनमा आएको गैरसरकारी तथा गैर नाफामूलक सामाजिक संस्था हो ।