उत्तरी म्याग्दीमा पहिरो खसेर केहीबेर रोकिएको कालिगण्डकी नदी आफ्नै बहावमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना र वडा नं ४ नारच्याङको सिमानामा पहिरो खस्दा करिब ५–७ मिनेट कालिगण्डकी नदीको बाहबमा असर गरेको दानाका स्थानीय हस्तबहादुर पुनले जानकारी दिए ।
‘पहिरो खस्दा धुँवा उडेको थियो, अहिले नदी आफ्नै लयमा बगेको छ, पहिरो खस्ने क्रम रोकिएको छैन’ प्रत्यक्षदर्शी पुनले भने । उनका अनुसार पहिरो सिधै कालिगण्डकी नदीमा खसेपछि आसपासका क्षेत्रमा समेत असर गरेको बताए । बस्ती आसपासमा नभएकाले नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए । पहिरोस्थल संसारकै गहिरो पर्यटकीयस्थल अन्धगल्छीको माथि र भाले बास्ने तालको तल पर्छ ।
कालिगण्डकी नदी खोचबाट बग्ने भएकाले पहिरोले असर गरेपनि तिब्र बेगमा आएकाले लामो समे अवरुद्ध नभएको स्थानीयको भनाई छ । पहिरोले दानाको काभ्रेका सुमन घर्ती,थमबहादुर पाइजा, थमबहादुर विक र शान्ती बरुवालको परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । त्यस्तै पहिरोले दानाको नारच्याङको कोप्चेपानीबासी त्रसित भएका छन्। लगातार पहिरो खसेमा कोप्चेपानी बस्तीलाई नै जोखिम हुने स्थानीयबासीको भनाई छ ।