योग्य हुनु र योगदानकर्ता हुनुमा निश्चिय नै फरक छ । हाम्रो समाजमा योग्यताको बखान त हुन्छ तर गाउँसमाजमा विभिन्न पक्षमा हुने गरेको साँचो योगदानको यथोचित परख कदर त्यति हुदैन सायद ।
एकजना छिमेकी भाई छ खत्री कान्छो । यसो विचार गर्छु, त्यो गाँउ छिमेकमा उसको योगदान म र म जस्ताको भन्दा कैयौ गुणा उचो छ । कान्छो गाउकै स्कुलमा दश कक्षा सम्म पढ्यो । उसको सबैभन्दा ठूलो योगदान गाउँ छाडेर कतै गएको छैन। कान्छाको जागिर छैन तीन÷ चार महिना बढी खान पुग्ने जग्गा छैन । उसको पाखुरी कै भरमा छ सात जनाको परिवार सर्भाइभ छ । उ गाऊको मेला पात, चाडपर्व, पुजाआजा तथा मर्दा पर्दा जन्ति मलामीमा हाजिर छ ।
टोल छिमेकमा सामान्य अत्तो समस्या आईपरे सक्दो सहयोग गर्छ । उ स्थानीय सरकारी स्कुलको महत्वपूर्ण अभिभावक हो । ऊ त्यति शुखी नभएपनि असन्तोषी छैन । सरकार, नेता, पार्टि , ठूलाबडा, आफन्त प्रति कुनै गुनासो गर्दैन । बालबच्चाहरु पनि हसिला रसिला नै छन , स्वाभिमानी छन । गाँऊको अवस्था अहिले तिनै खत्रि कान्छा, कार्की माईला , दमाईसाईला जस्ता भूईमान्छेहरु बाट थेगिएको छ भन्दा हुन्छ । तिनकै सन्तानले गाँउको स्कुल धानिएको छ, डेढदुई दर्जन पढालेखावालाहरुको जागिर थामिएको छ ।
आजकल, गाँउघरमै हिलो धुलो सँग लटपिदै हुर्केका हामी धेरै जनाको खास हैसियत त्यहाँको लागि पटके पर्यटक सरह भएको छ । म आफै पनि हरेक पटक पुग्दा केही न केही भिन्न र फरक अनुभूति थपिन्छ ।
पछिल्लो फेरीमा विकासै भएन भन्ने गुनासो त त्यति सुनिएन । तर तमाम विकासे प्रगतिमा बाबजुद गाँऊबस्तिमा रित्ताघरहरुको संख्या बढ्दै गएको, परिवारको आकार पातलिदै गरेको र खेतिपाती रहित भूमीको आकार तिब्र विस्तार भईरहेको प्रष्ट देखियो ।
एकैपटक आधा दर्जन बाली पाक्ने सुन्दर बारीहरु बनमाराको कुरुप झाडीमा परिणत भएका छन । धानका सुनौला बाला लहराऊने खेतहरुसमेत नत खरबारी नत सिरुबारी बेकामे बनस्पतिको साम्राज्यका सिकार बनेका छन ।एक जना मास्टर दाईले गाँउमा राम्रा मान्छेहरु बस्दै नबस्ने भए भन्ने दुखेसो पोखे, सुस्केरा हाल्दै । हाम्रो मात्र होईन नेपालमा प्राय गाँऊवस्तिहरुको कथा व्यथा यस्तै ऊस्तै हो जस्तो लाग्छ ।
गाउँको विकास नै देशको विकास हो भन्ने ऊक्ति सुन्न थालेको उहिल्यै देखि नै हो, हामी जन्मनु भन्दा पधि धेरै पहिला देखि । हाम्रो मुलुकमा भौतिक पुर्वाधार वा सुविधाहरुको विस्तारलाई नै सम्पूर्ण विकास मान्न थालियो । विकासका अन्य आर्थिक तथा सामाजिक आयामहरुको खासै वास्ता भएन ।
विद्यमान भौतिक विकासलाई सामाजिक साँस्कृतिक दृष्टिले अग्रगमन मान्ने की अस्तगमन? दुविधा छ, किनकी जति विकास जति फैलिदै गएको छ त्यति चिन्ताजनक रुपमा जनआवादी निचोरिदै र सुक्दै गएको अवस्था छ ।
उत्साहजनक रुपमा विस्तार भएका विकासका पुर्वाधारहरुलाई अधिकतम सदुपयोग गरी आर्थिक तथा सामाजिक रुपान्तरणमा परिणत गर्न अरु केही विशेष पहल प्रयत्न, जनशक्ति र संस्थागत संरचनाको आवश्यकता पर्दछ । हाम्रो गाउँ साक्षर तथा शिक्षित जनशक्ति उत्पादनमा औसत भन्दामाथि नै छ जस्तो लाग्छ, पंचायतकालको शुरुमै निमावि र अन्त्यतिर मावि स्थापना भएको थियो । गणतन्त्र आए लगत्तैबाट उच्च मावि पनि संचालित छ ।
साथै देश विदेशमा उच्च शिक्षा हासिल गरेका डाक्टर, ईन्जिनियर, समाजशास्त्रीहरुको गाउँ भन्न मिल्ने हैसियत छ । त्यहाँका बासिन्दाहरु साँसद देखि न्यायाधिशसम्मको सार्वजनिक जिम्मेवारीमा पुगिसकेकाछन । तर बिडम्बना गाँउबासीका छोराछोरीहरु जति शैक्षिक रुपमा योग्यतम हुँदै गईरहेका छन त्यति स्थानीय आर्थिक सामाजिक उत्थानमा ऊनीहरुको प्रयोजन ः योगदान र भूमिका त्यति विरानो र दुर्लभ बन्दै गईरहेको छ ।
सामाजको सम्पूर्णता र सन्तुलनको निम्ति अनेक योग्यता र गुण भएका जनशक्ति जरुरी हुन्छ । औपचारिक शिक्षामा उच्च डिग्रि हासिल गर्नेहरु मात्र सम्पूर्ण योग्य हुदैनन । अधिक योग्यताको बोझ पनि कम पिडा दायक हुदैन । पौने दर्जन टाठाबाठा सुयोग्य सन्तानका धनी एकजना वयोवृद्ध आफन्तले एउटा छोरो लाटो भईदिएको भए पनि साथमै हुन्थ्यो होला नी भन्दै बुढेसकालिन एक्लोपनको विरक्ति पोखेका थिए ।
खास योग्यहरुको संख्या चाहने भन्दा बढी भयो भने अर्थशास्त्रको सीमान्त उपयोगिताको ह्रास नियम लागू हुन्छ । उपयोगिता विनाको योग्यताको के अर्थ ? औपचारिक शिक्षाले आफ्नो देश समाजलाई योग्यहरुको उत्पादन त गर्यो तर योगदानकर्ताहरुको गर्न सकेन । शैक्षिक प्रमाणपत्र केबल गाउँ तथा देश छाड्ने लाइसेन्स बन्न पुग्यो ।
गायक प्रकास सपुत ले देश भनेको के हो ? भन्ने प्रश्न उठाए जस्तै गाउँभनेको केहो ? मनन गर्न सकिएन की ? यो भूगोल हो की समाज ? भौगोलिक स्थान विनाको गाउँ त हुदैन तर मानव समाजविनाको ठाँऊलाई पनि गाउँ मान्न सकिदैन । एक किसिमले विकास भनेको विनास पनि हो ।
जसरी उज्यालो ले अध्यारो को विनास गर्छ त्यसरी नै आधुनिक विकासले समाजको परम्परागत चरित्र , पेशा व्यवसाय तथा आर्थिक पद्वतिको विनास गर्दछ । त्यस अर्थमा गाँऊलाई ठाऊँ मात्र ठान्ने दिग्भ्रम पनि यथावत छ ।
खास स्थानमा अवस्थित परम्परागत समाजमा आधुनिकता भित्रिदै जानु अन्तर्य गाँऊले चरित्र बाहिरीदै जानु पनि हो । साथै निर्वाहभूखि कृषि पेसाको निर्मुलिकरण पनि हो । त्यस प्रक्रियामा ठूलो सामाजिक ऊथल पुथल आउनु स्वाभाविक छ । जुन ठाऊँको आधुनिकीकरण आर्थिक उत्पादकत्व अभिवृद्धि विना अधकल्चो हुन्छ त्यहाँको रस्तिबस्ति उजाडिन पनि सक्छ । केबल उपभोगको आधुनिकीकरण देशको कुना काप्चामा पुगेको छ, त्यसले परम्परागत आर्थिक इकोसिस्टम ध्वस्त बनाई दिएको छ ।
एकोहोरो, खुद्रे र टुक्रे विकास नीतिले ल्याएको यस्तो विसगंत, असन्तुलित र विरोधाभासपूर्ण अर्थसामाजिक संक्रमणको पिडाको अभिव्यक्ति हो मास्टर दाईको सु्स्केरा ।सानो हुँदा एकजना आफन्तकोमा एक जोडी सिकर्मी काम गर्दै थिए, त्यस समयका नामुद पण्डित आफन्ती हजुरबा पनि आगनमा बसेर गफ्फा लडाउदै थिए ।
कुरो चल्दै जाँदा सिकर्मी ठिटाले तीन कक्षा मात्र पढेको छु भन्यो अनि पण्डित बाजेले भने ठिक्क पढेको रहेछस भनेर सान्त्वना दिए । म त्यतिबेला छक्क परेको थिए अझै पढ्नु पथ्र्यो किन भनेनन भनेर । खास तात्पर्य अहिले पो याद आयो, जति धेरै पढदै गयो उति गाउँघरमै ठहरेर गरिखान अयोग्य बनिने कुरा बाजेले उहिल्यै बुझेका रहेछन ।
नेपालमा प्रचलित शैक्षिक प्रणालीले नयाँ पुस्तालाई एक अर्थमा निकम्मा नै बनाई दिएको छ, बाँदरको पुच्छ लौरो न हतियार जस्तो । उनीहरुमा नत परम्पारागत खेति किसानी, घर गोठ गर्ने क्षमता र मानसिकता छ नत आफ्नो गाऊठाउँमा उपलब्ध स्रोत सम्पदाहरुको व्यवासायिक प्रयोग गरि जिविका चलाउने दक्षता छ ।
कुनै समय थियो परदेश जान खोज्ने सन्तानहरुलाई रोक्न खोजिन्थ्यो, आमा र श्रीमतिका आँशुले बाटो छेकिन्थे । अहिले अलि पढालेखा लक्का जवान घरमै छ भने जहान परिवारको नजरमा उ कही जान नसक्ने देशविदेश खान नसक्ने हुतिहारा ठहरिन्छ । सामान्य जागिरमै अल्झिएको छ भने पनि सन्तोष हुदैन अलि धेरै कमाई खान ठूलो देशमा जान धकेलिन्छ ।
अझै विवाहित छ भने ससुरालीको जोडबाल समेत थपिन्छ । परिस्थिति वा परिवन्दले गाउँमै अल्जिरहेका साथीभाईहरुको चेहरामा खिन्नता छाएको देखिन्छ कतै लाग्ने वा भाग्ने पराक्रम गर्न सकिएन भनेर ।
अन्त्यमा ः गाँउठाँउलाई पुनजागृत तुल्याउने हो भने अरु धेरै कुराको अतिरिक्त एउटा धारणामा बदलाव ल्याउन जरुरी छ, गाँउघर वा देश छाड्नलाई लायक ठान्ने होइन थातथलो मै गरिखाने खत्रि कान्छाहरुलाई नायक मान्नु पर्छ जस्को चर्मले अझै धर्ति स्पर्स गर्दछ, पसिना आफ्नै माटोमा उत्सर्जन हुन्छ र्।