म्याग्दी/अगाडी उर्लेर बग्ने म्याग्दी नदी । वरीपरी डरलाग्दा पहाड । तिनै पहाडहरुको फेदमा स्याउला र टिनले छाएका छाप्रा । थोरैमात्र ढुङ्गेघर । पातलो वस्तीमा सानो बजार । तर,व्यापारीहरुलाई भने एक छिन पनि हात खाली नहुने ती दिनहरु अहिले एकादेशको कथा जस्तै बनेका छन् ।
यस्तो अवस्था पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङ बजारको हो । जतिबेला बेनी–दरवाङ सडकको ट्रयाक खुलेको थिएन । मानिसहरु पैदल ओहोरदोहोर गनर्थ त्यो बेला दरवाङको रौनक छुट्टै थियो । डेढ दशकअघि बेनी दरवाङ सडकको ट्याक खुलेर यातायातका साधनहरु संचालन हुन थालेपछि भने दरवाङको अवस्था फेरिएको छ ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ मा पर्छ दरवाङ बजार । सडकको पहँुचसँगै दरवाङ बजारको क्षेत्र विस्तार भएको छ । पक्की घरहरुले दरवाङ भरिभराउ छ । तर,व्यापार व्यवसाय भने खस्किदै गएपछि यहाँका व्यापारीहरु पलायन हुने अवस्थामा पुगेका छन् ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङ पश्चिम म्याग्दीका मालिका र धौलागिरी गाउँपालिकाका साथै बागलुङको पश्चिमी भेगका दर्जन बढी गाउँको समेत प्रमुख व्यापारिक केन्द्र हो ।
तर पछिल्लो समय दरवाङ बजारमा घर निर्माणको क्रम बढेर वजार विस्तार भए पनि व्यापार भने खस्किदै गएको स्थानीय पुराना व्यापारीहरुले बताएका छन् । त्यसमा पनि कोरोना महामारीसँगै उत्पन्न भएको आर्थिक मन्दीका कारण रेमिट्यान्समा आएको कमी र गाउँ गाउँमा पुगेको मोटरबाटोका कारण यहाँको व्यापार व्यवसाय घट्दै गएको होटल व्यवसायी संघ दरवाङका अध्यक्ष अमृत सापकोटाले बताए ।
विगत २० वर्षदेखि दरवाङ बजारमा व्यापार गर्दै आउनुभएका सन्तोष सुवेदीले पछिल्लो समय दरबाङमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाए ।
चार वर्षयता (कोरोना महामारी सुरु भएपछि) को आर्थिक मन्दी र ग्रामीण सडकका कारण पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङका व्यवसायीहरु फुर्सदिला बनेका छन् ।ग्राहकको चापले खाना खाने समय नपाउने दरबाङ बजारका व्यापारीहरु व्यापार घट्दै गए पछि फुर्सदिला बनेका हुन् ।
एक दशक अघिसम्मको टहरा र ढुङ्गेघर भएको दरवाङमा अहिले तीब्र रुपमा घर निर्माणको क्रम बढे पनि व्यापार व्यवसाय भने धरासायी बन्दै गएको दरवाङ होटल व्यवसायी संघका अध्यक्ष सापकोटाले बताए ।
‘दरवाङमा टहरा र केही ढुङ्गे घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र घोडा र खच्चडको चरन क्षेत्र थियो’, उनले भने ‘बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सद पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर व्यापार खस्कियो ।’
१० वर्षअघिसम्म पश्चिम म्याग्दी र तमान,लामेला,ढोरपाटन लगाएत क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी दरवाङ बजार । धौलागिरि हिमाल आरोहण गर्न जाने पर्यटक,पदयात्री मात्र नभएर खाद्यान्न,लत्ता कपडा खदिरका लागि आएका गाउँका मानिसले दरवाङ बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थ्यो । जिल्ला सदरमुकाम बेनी बजार जाने आउनेको ‘ट्रान्जिट’ दरवाङ थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो कुरा एकादेशको कथामा परिणत भएको दरवाङमा व्यापार गर्दै आएका मिनबहादुर सिउथानी मगरले बताए ।
अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी दरवाङमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । यहाँका पुराना व्यापारी भीमबहादुर पुनले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताए । ‘बेनी,नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे’, उनले भने ‘अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पु¥याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।’
करिब एक किलोमिटर दूरीमा म्याग्दी नदीको किनारमा फैलिएको दरवाङ बजार मालिका गाउँपालिका वडा नं ६ मा पर्छ । यो मािलका गाउँपालिकाको केन्द्र पनि हो । यहाँ दुइसय बढी घर छन् ।
दरवाङमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने यो बजार अहिले सुनसान भएको स्थानीय मिनबहादुर सुनारले बताए ।
यहाँका पुराना व्यापारीहरु धेरैले दरवाङ छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौँमा सरेका हुन् । गाउँबाट दरवाङ झरेर घर निर्माण गरी वस्ने क्रम बाख्लिएको छ । व्यापार दरवाङ क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुबाट नै धानिएको छ । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् ।
शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत् ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न बजारको व्यापार व्यवसाय खस्किदै गए पनि छोराछोरी पढाउन बजारमा कोठा लिएर बसेका मानिस र विद्यार्थीहरुका कारण ससाना पसल र व्यवसाय धानिएका स्थानीय हिराबहादुर पुनले बताए ।
बेनी–दरवाङ सडक विस्तार र स्तरोन्नतिसँगै पश्चिम म्याग्दीका गाउँ गाउँबाट सिधै पोखरा–काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । संघीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रीकृत भए पछि गाउँ गाउँमा समेत वैंक तथा वित्तिय क्षेत्रको पहुँच पुगेको छ ।
मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका तीन वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको स्थानीय व्यापारीहरुले बताएका छन् । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् ।