सृष्टिको उद्घम बिन्दु अथवा महिलाको अस्तित्वसँग जोडिएको पाठेघरको सुरक्षामा हेल्चेक्राई गर्ने गरेको पाइन्छ ।
महिलामा सबभन्दा बढी स्तन क्यान्सर र दोस्रोमा पाठेघरको मुखको क्यान्सर हुन्छ । साधारणतः ४० वर्ष उमेर कटेपछि देखा पर्ने यो रोग अविकसित देशहरूमा ३० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरूमा समेत हुने गरेको छ । कम उमेरमा विवाह हुनु, धेरै जनासँग यौनसम्पर्क राख्नु, कम उमेरबाटै धेरै बच्चा पाउनु, यौनाङ्गको सरसफाइ नगर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखमा क्यान्सर लाग्नाका कारण मानिन्छ ।
म्याग्दीबाट प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिले म्याग्दीका सबै स्थानीय तहमा पाठेघर र स्तनसम्बन्धि शिविरमार्फत समस्याको पहिचान र समयमै उपचार गर्ने गरी म्याग्दीका स्थानीय तहमा सञ्चालित शिविरमा महिलाको लर्को लागेको छ ।
ग्रामिण क्षेत्रमा लुकाइएको महिलाको पीडा शिविरसम्म बोकेर आएका छन् । अति विपन्न महिलाहरूमा पाठेघरको समस्या धेरै देखिएको छ । स्त्री तथा प्रजनन सम्बन्धि सचेतनामुलक कार्यक्रम प्रभावकारी नहुदाँ ग्रामिण क्षेत्रमा कैयौं महिला व्यथा बोकेरै बाँच्न विवश छन् ।
शिविरमा भेटिएका धेरै महिलालाई पाठेघरको बारेमा सामान्य जानकारी समेत छैन् । महिलाको पाठेघरका बारेमा पुरुषले समेत चासो देखाउँदा अहिले रोगको घर बनेको छ । बुधबार पश्चिम म्याग्दीको दरबाङमा आयोजित शिविरमा भेटिएका महिलाले पाठेघरको सुरक्षामा आफ्नोभन्दा ठूलो भूमिका श्रीमानको हुनुपर्ने सन्देश प्रवाह गर्न अनुरोध गरे ।
शिविरमा आएका महिलाले पाठेघरको सुरक्षा तथा नियमित उपचारका लागि पुरुषबाट हुनुपर्ने सहयोग र साथ भएमा अधिकांस महिला यो समस्याबाट मुक्त हुने बताइरहेका थिए ।
मालिका गापाको विभिन्न बस्तीबाट आएका महिलाहरु पाठेघर जोगाउन आफ्नो मात्रै प्रयासले सफल हुन नसक्ने बताइरहेका थिए । उनीहरुले पुरुषको साथ पाएर नियमित चेकजाँच सहित सचेतनामुलक कार्यक्रम गर्न सकेमा पाठेघर जोगाउन सकिने भएकाले खुलेर बोले ।
शिविरमा आएका केही महिनाको महिनावारी सुक्ने उमेर भएपनि अनविज्ञता र सुकिसकेको समेत जानकारी नहुनु र त्यसपछिका बारेमा चिन्ता चिकित्सक टोलीसँग गरेकाले यसमा अशिक्षित महिलाभन्दा पनि पुरुषको कमजोरी र बेवास्ता समेत प्रमुख कारण रहेको देखिन्छ ।
महिनावारी सुक्ने बेलामा प्रजनन सम्बन्धीका हर्मनहरूको मात्रा कम हुने भएकाले यो उमेरमा पाठेघरको परीक्षण अनिवार्य गर्नुपर्छ भन्ने ग्रामिण क्षेत्रका करिब धेरै महिलालाई जानकारी नै छैन भने पुरुषले यो विषय आफ्नो श्रीमतीको सुरक्षाको विषय नै बनाउँदैनन् । पाठेघरको समस्या पहिचान भएका महिलाले घरपरिवारका सदस्यलाई समेत खुलेर जानकारी गराउँदैनन् भने पाठेघर खस्नुलाई अझै लाजको विषय मान्ने गरिन्छ ।
‘पाठेघर खस्नु सामान्य हो उपचार गरे सजिलै निको हुन्छ’ भन्ने जानकारी पनि छैन । पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केहि मात्रमा समाधान हुने र हरेक महिलाहरू ३० देखी ६० बर्ष उमेरमा चेकजाँच गर्नुपर्छ ।
महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिन्छ । शिविरमा आएका महिलालाई स्तनको सुरक्षाका बारेमा समेत जानकारी दिइरहेको छ । पाठेघरसँगै स्तनको सुरक्षाका बारेमा समेत सामान्य जानकारी महिलामा देखिदैन् ।
स्तनमा कुनै पनि किसिमको गाँठो महसुस भएको छ, जुन ठोस रुपमा नदुख्ने छ र छालाको माथिल्लो वा तल्लो भागमा टाँसिएको छ भने तत्कालै चिकित्सकसँग सल्लाह लिनुपर्छ। यसो गरेमा समयमा नै क्यान्सरलाई पहिचान गरेर उपचार गराइ ज्यान बचाउन सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका, अधिक मोटो, लामो समय पिल्स सेवन गरेका, तीन भन्दा बढी बच्चा पाइसकेका महिला पाठेघर क्यान्सरको जोखिममा हुन्छन् ।
पाठेघरको मुखको क्यान्सर र स्तनमा देखिने समस्याको रोकथाम गर्न सकिने रोग हो । यसका लागि स्क्रिनिङ परीक्षण सजिलो विधि हो । समयमै पत्ता लागे सबभन्दा उपचारयोग्य क्यान्सर हो । स्क्रिनिङ टेष्टका कारण पाठेघरको मुखको क्यान्सरले हुने मृत्युमा ५० प्रतिशत कमी आएको छ । नेपालमा भने आधाजसो पाठेघरको मुखको क्यान्सरका बिरामी कहिल्यै स्क्रिनिङ नगराइएका हुन्छन् ।
सहरबजारमा बसोबार गर्ने महिलाले स्तन र पाठेघरको समस्यापछिको जटिलताका बारेमा जानकारी हुदाँ समेत ध्यान दिदैनन् भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिला जनचेतना, अशिक्षा र गरिबीका कारण स्तन र पाठेघरमा समस्या देखिएपछि मात्रै बाध्य भएर उपचारको खोजी गर्छन् । महिलाहरुले पाठेघर, स्तन र अन्य प्रजनन सम्बन्धि समस्याले ज्यान नै जाने सम्भावनालाई मध्यनजर गदैं यस्ता समस्याहरु लुकाउन नहुने भन्दै परिवार र समाजमा खुलेर भन्न सक्नुपर्छ।
म्याग्दीको ग्रामिण क्षेत्रमा अझैपनि महिलाहरु प्रजनन् र यौन सम्बन्धिका समस्याहरु लुकाउने गरेकाले अन्तिम समयमा रोग पहिचान भएपनि उपचार खोज्ने प्रबृत्तिलाई तोड्नुपर्छ । स्थानीय तहमार्फत वडास्तरमा विनियोजन गरिने बजेटलाई महिलाको प्रजनन् र यौन सम्बन्धिका समस्याको पहिचानमा समेत विनियोजनमा अव ढिलाई गर्नुहुदैन् । पाठेघर र स्तन आफैमा संवेदनसिल अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वस्थ्यमा बढी सचेत हुनुपर्छ ।