मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो ।
पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मङ्गला गाउँपालिकाका–३ का वडाध्यक्ष याम रोकाले बताए। “पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक–माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई तीन वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ”, उनले भने, “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”
बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो । मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरंजा तथा वडा नं ५ अर्मनका दुई हजार पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । मङ्गला गाउँपालिका–५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भए पनि पुलबाट यातायातका साधन आवतजावत गरेका बताए।
“म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ”, उनले भने “स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।” भरियामार्फत झोलुङ्गे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट बञ्चित थिए ।
बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको पखेरका बासिन्दा समबहादुर थापाले बताउनुभयो । पुल बनेसँगै पखेरमा यसअघि प्रतिमिटर रु ४० हजारका दरले बिक्री हुने घडेरीको मूल्य बढेर प्रतिमिटर रु दुई लाख पुगेको उनले बताए। तीन पिलर भएको माटेबगर–पोक ८० र चार पिलर भएको फापरखेत–पखेर जोड्ने पुल एक सय १७ मिटर लामो छन् । दुईवटै पुल ११–११ मिटर फराकिला छन् ।
रङरोगन भइसकेको पुललाई जोड्ने पहुँचमार्गलाई अन्तिम रुप दिने काम भइरहेको छ । दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच रु २२ करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी पुल निर्माण सकिन लागेको हो ।
विसं २०७८ माघमा फापरखेत–पखेर पुल ढलानका क्रममा फर्मासँगै पुल दबेपछि विवाद र छानबिन गर्नुपर्दा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।