छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी-रत्नेचौर सडकखण्डको लामो समयदेखि रोकिएको कालोपत्रेको काम सुरू भएको छ । ठेकदारको लापरवाहीको कारणले रोकिएको बेनी–रत्नेचौर–बागलुङ सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको कामले तिब्रता पाएको छ ।
रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम बि.स २०७४ मा रु १३ करोड १५ लाखको लागतमा कालोपत्रको ठेक्का देव एण्ड सायर बिएन जेभीले लिएको थियो ।
कोरोना भाइरस, कामदारको अभाव र विभिन्न समस्या देखाउँदै ठेकेदारले काम रोकेपछि कालोपत्रेको तयारी गरिएको सडक अन्तिम समयमा रोकिएपछि अलपत्र परेपछि लगातारको ताकेतापछि काम सुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।
‘बैशाख महिनामै कालोपत्रेको काम हुन्छ,‘जिल्लाभित्र रोकिएका सबै काम धमाधम भइरहेको छ’ प्रमुख अधिकारीले भन्नुभयो । उहाँका अनुसार साढे तीन किलोमिटरको सडकमा विगतमा काम गरेकाले समेत काम गर्न सहज भएको प्रमुख अधिकारीको भनाई छ ।
सडकखण्डमा कालोपत्रे नहुदाँ जताततै खाल्डाखुल्डी थिए । कालोपत्रे गरिएको सडक समेत उप्किएको छ भने धुलाम्मे सडकका कारण यात्रुलाई सास्ती हुने गरेको थियो । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको बाँकी कालोपत्रे गरिएको छ ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले अलपत्र योजनाहरु सुचारु गर्न पटकपटक दवाव समेत दिएका थिए । त्यस्तै बेनी नगरपालिका सहित गाउँपालिकाले समेत आफ्नो क्षेत्रमा रहेका प्रदेश र संघका अलपत्र योजनालाई पूर्णता दिन ताकेता गरेपछि अहिले जिल्लाका अलपत्र ठूला योजनाले गति लिएको छ ।