मंगलवार (आज) दिउसो म्याग्दीका लेकाली क्षेत्रहरुमा वर्षासँगै परेको भीषण असिनाले थन्काउने बेलाको बाली सखाप पारी दिएपछि किसान चिन्तित बनेका छन् ।
लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नैलागेको हिउँदेवाली समेत असिनाले नास गरिदिए पछि किसान चिन्तित भएका हुन् । मंगलवार दिउँसो एक्कासी वर्षासँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका २ज्यामरुककोटको गौश्वार, वडा नं ३ भकिम्लीको चिनाखेत,डाँडाखानी लगाएत जिल्लाका उच्च लेकाली क्षेत्रमो खेतीबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको ज्यामरुककोटका किसान भीमबहादुर क्षत्रीले बताए। मंगलवार दिउँसो हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ। यस अघि गत शनिवार पनि भकिम्ली र चिनाखेतमा असिना परेको थियो ।
खेतबारीमा लगाएको गहुँ,तोरी,केराउ,जौ,उवा लगाएत भित्राउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै,सिमी,आलु,काँक्रो,घिरौला लगाएतका तरकारी र बालीका विरुवामा समेत क्षति पुगेको चिनाखेतका कृषक श्याम पुनले बताए । त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए ।
अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले जानकारी दिए । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।
वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसानहरु भने खुसी भएका छन् । ‘फागुन पहिलो साता रोप्नु पर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन,पानीपरेसँगै खेतबारीमा मकै छर्ने चटारो छ’ ज्यामरुककोटका कृषक नारायण सापकोटाले भने ।
बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य कृषकहरुको भनाइ थियो । शनिवार र आइतवार जिल्लाको धवलागिरि,मालिका,मंगला,रघुगंगा,अन्नपूर्ण र बेनी नगरपालिका गरी छवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका कृषकहरु खेतबारीमा व्यस्त हुने भएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५देखि ४५ प्रतिशत सम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।
विगतका वर्षहरुमा तीन÷चार पटक हिमपात भैसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन ।
जिल्लाका गुर्जा,मुदी,टाड्के,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात नहुँदा पशुपालक कृषकहरुलाई समस्या भएको छ । बुकी र खर्कहरुमा हिमपात नभए पछि घाँस पलाउन नसक्दा पशुपालक कृषकहरुलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलु लगाएत हिउँदेबालीको उत्पादनमा समेत ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानहरुले बताएका छन् ।