म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागुपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका-८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ बर्षिय अलेमुन हकलाई पक्राउ गरेको सुचना अधिकारी एवम् प्रहरी निरिक्षक किरण लामाले बताए ।
सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको बताइएको छ । प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ अन्तरगत कारवाही अगाडी बढाएको छ।म्याग्दीमा लागु औषध र लागु पदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुदै कारोबारी प्रवेश गर्ने गरेका छन् । केही दिन अगाडी समेत रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ बर्षिय मुस्ताफा खानलाई ३९३ ट्वलेट नाइट्राजेपाम सहित प्रहरीले बरामद गरेको थियो ।
डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागुऔषधको प्रयोगकर्तासँगै महँगो मानिएको खैरो हिरोइनको समेत प्रयोगकर्ता बेनी आसपासमा रहेको सूचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको जनाएको छ । ‘विद्यार्थी उमेरका लागु औषधको दुब्र्यसनमा फसेका छन्,‘पछिल्लो समय भारतीय नागरिक समेत बेच्न बेनीसम्म आउने गरेका छन’ एक प्रहरी अधिकारीले भने ।
प्रहरीले अनुसन्धानमा रहेकाहरुबाट थप कनेक्सन खोज्दै छ । सदरमुकाम बेनीमा स्कुले विद्यार्थीे समेत दुब्र्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तिब्रता दिएको छ । सदरमुकाम बेनीबजारसँगै छिमेकी जिल्ला पर्वतबेनीमा सामुहिक प्रयोग गर्ने सुचनाको आधारमा प्रहरीले निगरानी बढाएको छ ।