म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्री क्षेत्री आजकाल मौरी चराउन व्यस्त छन्। बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरी बारीको छेउमा दिनभर चराउँछन्। मौरीको आहारा खोज्दै हिँडेका दिलबहादुरले दिनभरि मौरीको हेरचाहमा बिताउँछन्।
म्याग्दीका अगुवा एवम् व्यवसायिक माहुरी पालक कृषक ४२ वर्षीय क्षत्रीले रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार मौरी चराइरहेका छन्। करिब एक दशकदेखि मौरी पालनमा सक्रिय रहेका क्षत्रीले बर्षेनी मौरीलाई पर्याप्त चरण क्षेत्र र सहन सक्ने तापक्रमको खोजी गदैं मुख्य वासस्थानबाट घार ल्याएर मह उत्पादनमा सघाउने चरन क्षेत्रमा राख्ने गरेका छन्। पहेँलै फुलेको तोरी बारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ।‘ मौसम अनुहार आहारा पाइने मौरीलाई सार्नुपर्छ,‘मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ’ कृषक क्षत्रीले भने।
मौरीको वासस्थानबाट करिब ३ किलोमिटरसम्म आहाराको खोजीमा जाने गर्दछन्। चरन क्षेत्रमा पर्याप्त आहारा नपुगेको अवस्थामा चिनी खुवाउनुपर्ने उनले बताए। जङ्गल आसपासका क्षेत्रलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दा मह दोब्बर र स्वादिलो समेत हुने भएकाले समयअनुकुल चरन क्षेत्रको खोजी गर्नुपर्ने बताए। ४२ वर्षीय क्षत्री २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया पुगेका थिए। उनले मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर सुन्तला खेती गरेका थिए।
क्षत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक २० लाखको कारोबार गर्छन्। उनले वार्षिक १ क्विन्टल मह उत्पादनमा अपसिजनमा झण्डै आवश्यकता परेमा चिनी समेत खुवाउन झण्डै ५० हजार खर्च हुने बताए। उनले चरन क्षेत्रमा लैजाँदा लाग्ने ढुवानी, जग्गामा राखेवापतको भाडा लगायत अन्य खर्च कटाएर मौरी पालनबाटै वार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताए। उनले वार्षिक मौरीसहित, खाली घार गरी सय वटा घार बिक्री गर्ने गरेका छन्।
प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ। गत वर्ष मौरीसहितको घार बिक्रीबाट मात्रै उनले १० लाख आम्दानी गरेका थिए। यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार मौरीले दुई सय ५० केजी मह उत्पादन गर्ने अपेक्षा गरेको उनले बताए। प्रत्येक घारमा मौरीले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ। ताजा मह एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन्।
महका गोला र मौरीसहितको घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको क्षत्रीको भनाई छ। कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार मात्रै तीन हजार पाँच सयमा बिक्री हुन्छ।बर्खाको समयमा धान र मकै र हिउँदमा तोरी बारीमा लैजाने गरेकोमा पर्याप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम रहेको अर्का कृषक जीवन केसीले बताए। उनले मौरीको सबैभन्दा पहिलो रोजाई चिउरी र दोस्रो तोरी बारी रहेको बताए। गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फुल फुल्ने सबै बिरुवा अनुकूल भएपनि सबैभन्दा राम्रो तोरी र चिउरी सहित भएको बताए। गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको बताए।
रत्नेचौरको तोरी बारीमा मौरी चराइरहेका कृषक केसीका अनुसार मौरी पालनबाट सोचेजस्तै आम्दानी हुने बताए। उनले मौरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य व्यवसाय गर्न नपर्ने बताए। हरेका मौसममा फरक फरक ठाउँमा पु¥याएर चराउनु पर्ने बाध्यता रहेको उनले बताए। मौरी भाग्न सक्ने जोखिममा सावधानी अपनाउनुपर्ने बताए। बिहान चरन क्षेत्रमा पुगेका मौरी घाम अस्ताउन लागेपछि आफ्नै वासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षति हुने गरेको कृषकको भनाई छ। विगतमा मौरीले तोरी बारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरी खेतीमा सक्रिय कृषकले नै मौरी पालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए। उनले मौरी पुगेको तोरी फस्टाउने गरेको बताए। म्याग्दीमा अगुवा कृषकले मौरी पालनबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन्। एकै ठाउँमा चरन क्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँ ठाउँमा घार राख्ने गरिएको छ।
बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा तोरी बारीमा मौरी चराउँदै गरेका जीवन केसी र छिमेकी जिल्ला बागलुङ नगरपालिका–४ कुँडुलेमा दिलबहादुर केसी। तस्बिर हरिकृष्ण गौतम