म्याग्दीको सदरमुकाम बेनीबजारमा दुईदशकपछि ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा संस्कृतिको धरोहर हनुमान नाच प्रर्दशन गरिएको हो ।
नेपाल भाषा मंकाःखलले नियमित प्रशिक्षण दिएर स्थानीय यूवा तथा अग्रजहरुको सक्रियतामा महोत्सवको उद्घाटन सत्रमा हनुमान नाच देखाइएको नेपाल भाषा मंकाःखलका निर्वतमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।हनुमान नाचमा सबैभन्दा कम उमेरमा अप्रिमसँगै ५८ बर्षिय सरोज श्रेष्ठ लगायतका कालाकार थिए ।
कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवम् मनोरम नृत्यलाई महोत्सवको आर्कषकको रुपमा प्रस्तुत गरिएको थियो ।
हनुमान नाचमा सहभागी अप्रिन श्रेष्ठ उमेरले १३ बर्षको भएपनि आफुँ जन्मिुनभन्दा अगाडी नै बन्द भएको नाच पुनः सुरु हुने जानकारी पाएपछि नियमित प्रशिक्षणमा सहभागिता जनाउनुभएको थियो । हुनमान नाचमा सबैभन्दा कम उमेरमा अप्रिम श्रेष्ठ, १८ बर्षिय जोनसन श्रेष्ठका साथै सबैभन्दा पाका ५८ बर्षिय सरोज श्रेष्ठको उपस्थिती रहेको थियो ।
हनुमान नाच सम्बन्धि विभिन्न लेखरचनामार्फत प्रचारप्रसारमा सक्रिय अजयमिलन श्रेष्ठका अनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ ।
बेनीमा यसअगाडी बि.स २०५७ साल र सन् २००७ मा म्याग्दी जेसीजको ख सम्मेलनमा भाँकी मात्रै प्रर्दशन गरिएको नेवार समुदायका अगुवा सञ्जयकुमार श्रेष्ठले बताए ।हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् ।
भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।
नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् । यस नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन्। नृत्य तालको समाप्ति पश्चात ५ ताल “तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।
सदरमुकाम बेनीमा आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको म्याग्दी पुस्तकालयको सहयोगार्थ निकाली पुस्तकालय व्यवस्थापनमा अर्थ संकलन गरिएको थियो भने तत्कालिन समयमा बेनी माई भगवती मन्दिर पुनः निर्माणार्थ प्रदर्शन गरी उल्लेख्य आर्थिक सहयोग जुटाइएको थियो ।
म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे ३ सय बर्ष अगाडी मानवबस्तीको विस्तारको क्रममा ठेमंगल (घण्टाकर्ण) देखि तीजपर्वसम्म वर्षेनाच अन्तर्गत बर्षेनी गरिने लाखेनाच, रोपाइ नाच, नागानगिनी नाच, जोगी नाच, घोडे नाच, ठेट्टरनाच आदिका आ–आफ्नै महत्व र विशेषता छन् ।