विनय श्रेष्ठ, बेनी (म्याग्दी)
घटना १
बबिनको सवारी साधन लाईसेन्को म्याद गुज्रिएको रहेछ । खाना खाएर यातायात कार्यालयतिर हानियो । मेडिकल जाँचको लामो लाईन त्यस्तै बायोमेटिकको लामो लाइन । कोठा कोठाको झ्याल–झ्यालमा चाहार्दा चाहार्दा राजश्वको झ्यालमा पुग्दा त अचम्म सरकारी काम पनि एक बजे बन्द भै सकेको रहेछ । बास बस्नु भन्दा यस्तै आपतमा सहयोग गर्ने एजेन्ट खोजेर कागजात, राजश्व र अतिरिक्त सहयोग शुल्क बुझाएर घर तिर फर्कियो । धन्न बास बस्न परेन तापनि एक दिनभरको काम बित्यो ।
घटना २
बिश्वभर बिश्वकप फुटबलको चर्चा चलिरहेको थियो । नेपालमा भने हेर्न पाईने कि नपाइने स्पष्ट थिएन । केबल हुदाहुदै, मासिक महशुल तिर्दा तिर्दै पनि फुटबल हेर्न थप ५६५ र भ्याट सहित ६०० बुझाउनु पर्ने भयो । नभए फुटबलको महाकुम्भ मेला हेर्नबाट बन्चित हुनु पर्ने भयो ।
घटना ३
मदनका बाजे पार्टीका कतिबद्द सदस्य थिए । कहिल्यै मत दायाँबायाँ गरेनन् । बुबा आमा भन्नै परेन–पार्टीका भातृ संगठनका विभिन्न पदमा थिए । पहिलोपटक मताधिकार रहेको मदनलाई बाउबाजेकै पार्टीमा भोट हाल्ने दवाव रह्यो तर मदनको मनले मानेन । मंसिर ४ मा घण्टी बजाईदियो ।
घटना ४
२०७९ मंसिर ४ को आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो दल बन्यो । प्रधानमन्त्री बन्नको लागि संसदीय दलको नेता चयनका लागि चुनाव भयो । तर परिणाम सोचे जस्तो आएन । युवा पुस्ताका उम्मेदवारलाई पुराना पुस्ताका उम्मेदवारले झण्डै तीन गुणा मतले पराजित गरे । अरु पार्टीमा त झन पुरानाले स्वघोषणा गरि माला, खादा र अविर लगाइ सकेका थिए।
घटना ५
मंसिर ४ गते नै घण्टी बजाउँदै नयाँ पार्टीको उदय भयो । सम्मानजनक मत र सिट सहित राष्ट्रिय पार्टी बन्न सफल भयो तर बिडम्बना उहीँ पुराना नेताको नेतृत्वमा बनेको सरकारमा पौष ११ गते सहभागी बन्यो ।
माथिको घटनाहरु सामान्य उदाहरण मात्र हुन् । पहिलो घटनाले सरकारी सेवाको ऐना देखाउँदछ । २१ औं शताब्दीको कम्युटर जमानामा जबकि अनलाइन प्रविधि विकसित भै सक्दा बच्चा देखि बुढोसम्म घण्टौ लाईन बस्नु पर्ने कहिले सम्म ? कुनै काम गर्दा निश्चित ठाउँ तोकिनु, एजेन्टको सहयोग बिना काम नबन्नु र १५ मिनेटको कामको लागि दुई दिन खर्चनु पर्ने कहिले सम्म ?
१० रुपैयाँको हुलाक टिकटलाई १५ रुपैयाँ तिर्नु पर्ने बाध्यता कहिले सम्म । के राजश्व जम्मा गर्नु पर्ने दिउँसो १ बजेसम्म मात्र हो ? त्यसो भए कार्यालय समय कति बजेसम्म हो ? जनताले तिरेको करबाट बनेको गगनचुम्बी सरकारी भवनको सझै जनताले झ्याल बाहिरबाट सेवन लिनु पर्ने हो ? बबिन जस्ता युवाको दुई दिन खेर गैरहँदा देश कति पर्छ ? कसैले सोचेको छ ? अनि कर्मचारीतन्त्र नसुधारिएसम्म परिवर्तन कसरी सम्भव छ ?
दोस्रो घटनाले देशको खेलकुद क्षेत्रको बखान गर्दछ । आफ्नै एशियाली मुलुकमा बिश्वकप फुटबल भै रहदा नेपाल भने प्रत्यक्ष प्रसारण हेर्न पनि बञ्चित हुनु परेपछि नेपालले बिश्वकप फुटबल खेलेको हेर्न कहिले पाउने ? उत्तर कसैसँग छैन ?
तेस्रो, चौथो र पाँचौं घटनाले वर्तमान राजनैतिक परिवेश उजागर गर्दछ । तेस्रो घटनाले अबको पुस्ता सचेत भैसकेको पहिले जस्तो पारिवारिक करकापमा मतदान नगर्ने अवस्था सिर्जित भै सकेको जनाउदिन्छ ।
चौथो घटनामा युवा पुस्ताले अब परिवर्तनका लागि कम्मर कस्ने भन्दै पुराना पुस्तालाई आराम गर्न आग्रह गरे । नेतृत्व हस्तान्तरित हुनु पर्दछ, प्रयोग भैसकेका अनुहार दोहोरिनु हुदैन, अब परिवर्तन युवाबाट मात्र सम्भब छ नि प्रतिष्पर्धामा होमिए । तर हात लाग्यो शून्य । पुराना पुस्तासंग झण्डै ३ गुणा मतले पछारिए । परिवर्तनका मधुर आवाज निकालेकाहरु ¥याल काड्दै पद, शक्ति र स्वार्थसंगै सति गए ।
पछिल्लो राजैनैतिक परिवेशमा जनताले फरकपनको आश गरेका थिए । पुराना पार्टी र अनुहारबाट वाक्कदिक्क भएका थिए। यस्तो मर्म बुझ्दै नयाँ पार्टीको उदय भयो । घण्टी बजाउँदै समाहित ग¥यो । फेरि पनि बिडम्बडा कुर्सी, सत्ताको मोहजालमा फस्यो । हिजो जो हुदैन, जसबाट सम्भव छैन भनी नारा लगायो उसकै पुच्छर बनेर सरकारमा गयो । नेपाली जनताको भरोसामा तुषारापात भयो ।
अब प्रश्न उठ्छ – के यहि दिनको लागि थियो घण्टी बजाएको ? हिजो यिनै अनुहारलाई लगाएका आरोपहरु मेचीमहाकालीले बगाए ? उत्तर कस्ले दिने ? बुबाआमा, बाजेबज्यैको नजाति भएर घण्टी बजाएको मदनलाई कस्ले सम्हाल्ने ? कि जंगे आयो जंगे आयो भनेको उहीँ कुखुरा चोर पो रहेझ भनेजस्तै हो ?
तैपनि आश गरौं–परिवर्तनका चर्का नारा लगाएर उपलब्धि हासिल गरेका महारथीहरुले सोच विचार गरेरै निर्णय लिएका होलान । हाम्मै पालामा परिवर्तन गरेर देखाउन्, शुभकामना छ । होइन भने अर्को ५ वर्षमा परिवर्तनको झिल्को फेरि सल्कने छ अनि No And Not Again मा यिनीहरुको अनुहार पनि समावेश हुने कुरामा दुई मत रहने छैन ।
जय राष्ट्रियता ! नेपालको जय होस् ! !