म्याग्दीमा उत्पादन भएको अल्लोको कपडालाई बजारको अभाव भएको छ। उत्पादन भएको कपडालाई बजार अभाव हुँदा उद्यमी समस्यामा परेका छन्। कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण विदेश निर्यात हुने परिणाममा कमी आउँदा उत्पादित कपडा गोदाममा थन्किएको उद्यमीको गुनासो छ।
म्याग्दीका ग्रामीण भेगमा अल्लोको धागोबाट कपडा तयार गरिन्छ। दुई वर्षयता कपडा बिक्री घटेपछि उद्यमी समस्यामा परेका हुन्। जिल्लाको रुम, दोबा, देवीस्थान, मुदीलगायतका ग्रामीण भेगका महिला वनजङ्गलमा खेर गएको अल्लोको लोक्तालाई प्रशोधन गरी कपडा तयार पारेर राम्रो आम्दानी गर्ने गरेका थिए तर पछिल्लो समय उत्पादित कपडाले बजार नपाएको उद्यमी बताउँछन्।
धौलागिरि गाउँपालिका–७ स्थित धारापानीमा छ वर्षअघिदेखि स्थानीय युवाले अल्लो कपडा उद्योग सञ्चालन गरेका छन्। अल्लो सङ्कलन तथा प्रशोधन उद्योग खोलेर अल्लोको कपडा तयार पार्दै आएका छन्। स्थानीय क्षेत्रकै कच्चा पदार्थको प्रयोग गर्नेगरी स्थानीय युवा किरण थापाले २०७३ मा उद्योग स्थापना गर्नुभएको थियो। थापाले स्थापना गर्नुभएको नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङले स्थानीय जङ्गलमा पाइने अल्लो प्रशोधन गरी कपडा उत्पादन गर्दै आएको छ। ३५ लाख रुपियाँ लागतमा स्थापना भएको उद्योगमा नौ जनाले दैनिक रूपमा कपडा तयार पार्ने काम गर्दै आएको उहाँले बताउनुभयो।
गुर्जा, मुदी, लुलाङ, मल्कवाङको जङ्गलमा खेर गइरहेको अल्लोलाई सदुपयोग गरी स्थानीय बासिन्दालाई रोजगारी दिई आयआर्जनको अवसर प्रदान गर्ने उद्देश्यले उद्योग सञ्चालन ल्याइएको हो तर पछिल्लो समय उत्पादित कपडाले बजार नपाउँदा समस्या भएको थापाको भनाइ छ। “उत्पादित कपडा गोदामै थन्किएको छ,” उहाँले भन्नुभयो, “उत्पादित कपडा बिक्री नहुँदा कच्चा पदार्थ सङ्कलक र मजदुरलाई भुक्तानी गर्न धौधौ भएको छ।” स्थानीयस्तरमा सङ्कलन गरेको पुवाको प्रतिकेजी १२० रुपियाँमा खरिद गर्ने गरिएको उहाँको भनाइ छ।
“उत्पादित कपडाले उचित बजार पाउन सकेको छैन,” उद्यमी थापाले भन्नुभयो, “स्वदेशभित्र अल्लोबाट उत्पादित कपडा लगाउने बानीको विकास भइसकेको छैन। कोरोना महामारीका कारण विदेशी पर्यटक आगमनमा कमी आउनुका साथै रुस र युक्रेन युद्धका कारण विदेश निर्यातमा पनि कमी आएकाले बजारको समस्या भएको हो।” “कोरोना महामारी सुरु हुनुभन्दा अघि वार्षिक रूपमा नौदेखि १० लाखसम्मको बिक्री हुन्थ्यो,” उद्यमी थापाले भन्नुभयो, “अहिले बिक्री घटेकाले उद्योगलाई नियमित सञ्चालन गर्न कठिनाइ भइरहेको छ। बजारको खोजी गरिरहेको छु कतै पाएको छैन।” अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको आठ सय रुपियाँ र कटन मिसाएको ५५०, ऊन मिसाएको ५०० रुपियाँ मूल्य राखेको उहाँले बताउनुभयो।
“हाम्रा ग्राहक विदेशी पर्यटक नै हुन्। गण्डकी प्रदेशको राजधानी पोखरा, पर्यटकीयस्थल सौराह र काठमाडौँ अल्लो कपडाको बजार हुन्। पछिल्लो समय ती बजार क्षेत्रबाट कपडाको माग आउन छाडेको छ,” युवा उद्यमी थापाले भन्नुभयो। स्थानीय बजारमा कपडामा माग नै आउँदैन, कहिलेकाहीँ घुम्न आउने पर्यटकले लैजाने गरेको उहाँले बताउनुभयो। अल्लोबाट पैसा राख्ने पर्स, झोला, जुत्ता, कोट, जुहारीकोट, टोपी, टुल बक्सलगायतका विभिन्न सामान उत्पादन हुन्छन्। उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने रेसादार अल्लो प्रशोधन गरी तयार भएको धागोबाट कपडा बनाउने गरिन्छ। gorkhapatraonline.com