चिसोका कारण छेउछाउमा तुषारो जमिरहेको छ तर चैत–वैशाखमा पाक्ने काफल मङ्सिरमै रातो हुन थालेको छ। काफलको रुखमुनि भवगान् गणशेको जस्तो आकृति र अद्भूत गुफा भएका कारण यहाँ चार दशकदेखि पूजा हुँदै आएको छ। वसन्त ऋतुमा पाक्ने काफल हेमन्त ऋतुमै रातो हुन थालेपछि प्रकृतिको लीला र दैवीय कारणले सधैँ यस्तो हुने गरेको जनविश्वास छ। बैतडीको सिगास गाउँपालिका–१, गोलेधारको ठूलाखोमा यस्तै जनविश्वास बलियो बनाउने गरी मङ्सिरमै काफल पाकेको हुन सक्ने स्थानीय धार्मिक अगुवा रामप्रसाद भट्टले बताए।
गुफा र काफलको संरक्षणका लागि त्रिशूल बनाएर पूजा गर्दै आएका स्थानीय दिक विश्वकर्माले यो काफलको फल कहिल्यै रित्तो नहुने बताए। उनका अनुसार जलवायु परिवर्तनका कारणले पाँच महिनाअघि नै काफल पाकेको मान्ने हो भने छेउछाउमा रहेका अन्य काफलमा बाला लागेको देखिन्छ, दाना पाकेको देखिँदैन। यहाँ दर्शन गर्न आउनेले जहिले पनि काफलको रुखमा फल लागेको पाउने गरेको उनले बताए।
गुफा रहेको वडाका स्थानीयवासी बसाइँसरेर तराई झरेपछि आफ्नो मनोकामना पूरा भएको भन्दै फर्केर यहाँ पूजा गर्न आउने गरेको स्थानीयले बताएका छन्। गुफा र काफल भएको ठाउँमा मन्दिर स्थापना गर्नसके यहाँ दर्शन गर्न आउनेलाई सहज हुने स्थानीयले बताएका छन्।
गुफाको संरक्षण र खोज विस्तृत खोज अनुसन्धानका लागि स्थानीय सरकारसँग पनि यहाँका धार्मिक अगुवाले माग राखेका छन्। thakhabar